• १३ मंसिर २०८१, बिहिबार

प्रदेश मन्त्रिपरिषद् बैठक

हात्तीपीडितका परिवारलाई एक लाख

blog

मकवानपुर समाचारदाता

हेटौँडा, फागुन १७ गते । बागमती प्रदेश सरकारले जङ्गली हात्तीको आक्रमणबाट मकवानपुर र सिन्धुलीमा गरी मृत्यु भएका तीन जनाको परिवारलाई एक लाख रुपियाँ प्रदान गर्ने भएको छ। प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई प्रतिपरिवार एक लाख रुपियाँ दिने निर्णय गरेको हो। 

मकवानपुरको बकैया गाउँपालिका–५ स्थित पावसका ५० वर्षीय सन्तलाल माझी, मनहरी गाउँपालिका–४ स्थित मसिनेकी राधा अधिकारी र सिन्धुलीको कमलामाई नगरपालिका–५ का दण्डपाणि पौडेलको हात्तीको आक्रमणबाट गत साता मृत्यु भएको थियो। यस्तै हेटौँडा उपमहानगरपालिका–१८ स्थित मानेडाँडामा ३० वर्षीय देव वाइबा जङ्गली हात्तीको आक्रमणबाट घाइते हुनुभएको थियो।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मृतकको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले तत्काल राहत दिने निर्णय गरिएको जानकारी दिनुभयो। प्रदेश सरकारले तत्कालका लागि राहतसँगै जङ्गली हात्तीले पु-याएको क्षतिको विवरण सङ्कलन गरी आवश्यक सम्बोधनसमेत गर्ने निर्णय गरेको छ।

मन्त्री थपलियाले प्रदेश सुशासन केन्द्रका निर्देशक विमल पोखरेलले दिएको राजीनामा स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बताउनुभयो। मकवानपुरको थाहा नगरपालिकालाई शीत भण्डार निर्माण गर्न अनुदानस्वरूप रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। मकवानपुर र सिन्धुली जिल्लाको चुरे क्षेत्रको आसपासको बस्तीमा जङ्गली हात्तीले मानवीय र भौतिक क्षति पु-याएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराउन यसअघि प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्यहरूले माग गरेका थिए।