• २१ असार २०८१, शुक्रबार

वर्षौंको प्रयासपछि अतिक्रमित जग्गा खाली

blog

जीवछ यादव

लहान, फागुन १५ गते । मिर्चैया नगरपालिकाको कार्यालयले अतिक्रमित जग्गा खाली गराएको छ। पालिकाको कार्यालय नजिकै रहेको जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको थियो। २५६ नम्बर कित्ताको तीन बिघा बाह्र कट्ठा सत्र धुर जग्गा स्थानीय व्यापारीले कब्जा गरिरहेका थिए। 

बजार स्थापना भएको समयदेखि नै घर पसल बनाएर बसिरहेका स्थानीयवासीले खाली नगर्दा नगरपालिका कार्यालय र बजार व्यवस्थापनका लागि चुनौती रहँदै आएको थियो। नगरप्रमुख श्रवण यादवका अनुसार २०७३ सालदेखि घरटहरा हटाउने काम भइरहेको थियो। 

प्रमुख यादवले खाली भएको जग्गामा नगरपालिका कार्यालय भवन र बाँकी रहेको जग्गमा व्यापारिक प्रयोजनका लागि सटरसहितको भवन निर्माण गर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, “पसलहरू भत्काउँदा स्थानीयवासीले हानेको ढुङ्गा पत्थरको चोट सह्यौँ। खाली भएको अवस्थामा पनि केही राजनीतिक दलको उक्साहटमा समस्या सिर्जना भइरहेको छ तर पनि नगरपालिकाले आफ्नो निर्णय लागू गर्नेछ।” 

नगरले साना ठूला ३५ वटा पसल खाली गराउन बल प्रयोग गरेको औषधि पसल सञ्चालन गर्दै आइरहेका सन्तकुमार गुप्ताले गुनासो पोख्नुभयो। उहाँले भन्नुभयो, “खाली गराउन नगरपालिकाले सूचना जारी गरेपछि न्यायका लागि उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषणयुक्त निषेधाज्ञा मिश्रित परमादेशमार्फत फागुन २१ गते अदालतले मेलमिलापका लागि बोलाएको थियो तर समयसीमा अगावै डोजर लगाएर खाली गराउँदा तीन पुस्तादेखि पसल गर्दै आइरहेका व्यापारीहरू अन्यायमा परेका छौँ। एकाबिहानै डोजर चलाउँदा व्यापारीहरू डराएर पसलमा भएका सामान पनि निकाल्न पाएनन्।”

अतिक्रमित जग्गाको घरटहरा हटाउन हरेक राजनीति दलका प्रतिनिधिले प्रयास गर्दै आएका थिए। यद्यपि स्थानीयसँग छलफल गर्न बोलाइएका हरेक बैठकमा सहमति हुने तर निर्णय कार्यान्वयन  गर्न जाँदा अदालती झमेला सिर्जना गराएर समस्या खडा गरिँदै आइएको थियो। अतिक्रमित जगगामा रहेका पुराना घर खाली गराउँदा तत्कालै हातमुख जोर्न समस्या भएका केही साना व्यापारीको वैकल्पिक व्यवस्था गरी भवन निर्माण सम्पन्न भएपछि व्यापारका लागि कोठा उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो। 

एक सय वर्षदेखि दैनिक प्रयोग गर्ने आवश्यक सामान खरिद बिक्री गर्ने मिर्चैया बजारको व्यवस्थापनका लागि आधुनिक व्यापारिक भवन निर्माण गरेर पलायन भइरहेका व्यापारीलाई स्थापित गरिने नगरप्रमुख यादवले बताउनुभएको छ।