• ११ मंसिर २०८१, मङ्गलबार

इटालीमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु

blog

इटालीमा दुर्घटनामा परेको डुङ्गा । तस्बिर : बीबीसी

काठमाडौं, फागुन १४ गते। इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन सहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन्।

समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान गरिएको छ। आँधीबेहरीका कारण बाँचेकाको खोजी कार्य जारी थियो।

एजीआई समाचार एजेन्सीले एक उद्धारकर्मीलाई उद्धृत गर्दै मृतकमध्ये केही महिनाका शिशु पनि रहेको जनाएको छ। आप्रवासीहरूको डुङ्गामा अत्यधिक लोड भएको र समुद्रमा व्यापक छाल आएका कारण डुबेको बताइएको छ।

इटालियन तट रक्षकसँग यसबारे प्रतिक्रियाका लागि सम्पर्क गर्दा तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

इटालीकोसरकारले आप्रवासीको उद्धारसम्बन्धी विवादास्पद नयाँ कानुन संसदबाट पारित गरेको केही दिनपछि यस्तो पछिल्लो त्रासदी आएको हो।

इटालीको दक्षिणपन्थी सरकारका प्रधानमन्त्री जियोर्जिया मेलोनीले अक्टोबरमा आंशिक रूपमा इटालियन तटमा पुग्ने आप्रवासीहरूको प्रवाहलाई रोक्ने प्रतिबद्धतापछि सरकारमा बहुमत प्राप्त गर्नुभएको थियो। उहाँ इटालीको फासिस्ट ब्रदर्स पार्टीका नेता हुनुहुन्छ। 

नयाँ कानुनले आप्रवासीको सहायताका लागि एक पटकमा एउटा मात्र डुङ्गा उद्धार प्रयास गर्न बाध्य बनाएको छ। आलोचकहरूले मध्य भूमध्यसागरमा डुब्नेहरूको सङ्ख्या बढाउने खतरा रहेको बताउनुभएको छ। 

युरोपमा शरण लिन चाहनेहरूका लागि यो मार्ग संसारकै सबैभन्दा खतरनाक मार्ग मानिन्छ।

द्वन्द्व र गरिबीबाट भागेर युरोपमा राम्रो जीवनको आशासहित ठूलो सङ्ख्यामा मानिसहरू अफ्रिकाबाट इटाली हुँदै युरोप र अमेरिका जाने गर्छन्।  रासस