• १४ वैशाख २०८१, शुक्रबार

आईसीसी यू–१९ विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित

blog

नेपाली यू–१९ टोली । फाइल तस्बिर

काठमाडौं, फागुन १३ गते । नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ ।

यूएईस्थित मलिका क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई दुई सय ४३ रनको फराकिलो अन्तरले हरायो । नेपालले दिएको तीन सय ४४ रनको विजय लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा विै विकेट गुमाएर एक सय रन मात्र बनाउन सक्यो । 

कुवेतका लागि जुधा सालधानाले सर्वाधिक २६ रन बनाउनुभयो । रसिन मोहमदले १९ र किसोरी भाई हिन्सुले १६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका लागि आकाश चन्दले ६ विकेट लिनुभयो । हेमन्त धामी र दीपेश कंडेलले दुई दुई विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ४३ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सतकीय पारी खेल्नुभयो । 

कप्तान खनालले एक सय २५ र ओपनर अर्जुन कुमालले एक सय आठ रन बनाउनुभएको थियो । विशाल बिक्रम केसीले २३, दीपक डुम्रेले अविजित २०, दीपक बोहोराले १९ र अर्को दीपक बोहोराले १३ रन बनाउनुभयो ।

बलिङमा कुवेतका हेनरी थोमसले र सहिल काज्मीले दुई दुई तथा जय महेशकुमार मेहता ले एक विकेट लिनुभयो । शुक्रबार आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले हराएको थियो । 

जितसँगै दुई खेलबाट चार अंक बनाएको नेपाल दोस्रो स्थानमा छ । समान चार अंक बनाएको यूएई रन रेटका आधारमा शीर्षस्थानमा छ । नेपालले तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ । 

छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । छनोट खेलको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।