धर्बेन्द्र झा
धनुषा, फागुन १३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकार योजना तर्जुमादेखि बजेट बनाउनेसम्मको सबै काममा स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने बताउनुभएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ, प्रदेश,स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तहमा वर्षौदेखि एउटै कर्मचारी रहेका कारण जनप्रतिनिधिलाई समस्या गर्ने गरेको भन्दै स्थानीय तहमा कार्यरत रहेका कर्मचारीको सरुवा गर्ने अधिकार प्रदेश सरकार मातहतमा हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सङ्घीयताको सफल कार्यान्वयनमा अझै पनि सङ्घ सरकार इमान्दार नभएको कारण अधिकारका सवालमा समय समयमा विभिन्न खालका अप्ठयाराहरु आउने गरेको बताउनुभयो । उहाँले फागुन २५ गतेको राष्ट्रपतिको निर्वाचन पछि सङ्घीयताको सफल कार्यान्वयनका विषयमा सातवटै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री बिचमा गहन छलफल हुने जानकारी दिनुभयो । उहाँले सङ्घीयतापछि गठन भएको प्रदेश सभाको पहिलो कार्यकाल पूर्वाधार निमार्ण र कानुनको निमार्णमा केन्द्रित भएको भन्दै दोस्रो कार्यकालमा जनचाहना अनुरूप कामकाज हुने बताउनुभयो ।
कार्यक्रममा सङ्घ,प्रदेश र स्थानीय तहको समन्वयको अवस्था र चुनौती विषयमा अधिवक्ता मोहन आचार्य, सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा प्रधानमन्त्री कार्यालयको भूमिका विषयमा प्रधानमन्त्री कार्यालयका सहसचिव महादेव पन्थ र स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनको अवस्था र चुनौती विषयमा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले आफ्नो प्रस्तुति गर्नुभएको थियो । ती विषयहरूमा तीन वटा समूह बनाएर छलफल गरिएको र छलफलको क्रममा सहभागीहरूले स्थानीयतहरुमा स्थानीय सरकार सञ्चालन ऐन अनुसारको कामकाज हुन नसकेको गुनासो गरेका थिए । सङ्घ सरकारले पनि धेरैजसो कानुनको निर्माण नगरेको कारण प्रदेशदेखि स्थानीय सरकारलाई कामकाज गर्नमा समस्या हुने गरेको धारणा राख्दै सहभागीहरूले कानुन निर्माणकाे कामलाई तीव्रता दिनका लागि तिनै तहका सरकारलाई आग्रह गरेका थिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, राम अशेष यादवसहितले आफ्ना भनाइ राख्नुभएको थियो ।