बाजुरा समाचारदाता
बाजुरा, फागुन १३ गते । भूकम्पले घर भत्काएपछि हिमाली गाउँपालिका–७ का विष्णुप्रसाद तिमिल्सेना त्रिपालकै सहारामा रात कटाउँदै आउनुभएको छ। माघ १० गतेको भूकम्पले घर भत्किँदा खाद्यान्न, भाँडाकुडा, लत्ताकपडा सबै पुरिएपछि तिमिल्सेना पालमा बस्दै आउनुभएको छ।
तिमिल्सेनाले ऋण गरेर सानो घर बनाउनुभएको थियो। त्यही घरसमेत भूकम्पले भत्किएपछि अर्को घर कसरी बनाउने भन्ने चिन्ता उहाँमा छ। अहिले यताका अधिकांश स्थानीय भूकम्पको डरले सबै खुला आकाशमा त्रिपालको बासमा रहेको तिमिल्सेनाले बताउनुभयो।
यो पीडा तिमिल्सेनाको मात्र होइन, हिमाली गाउँपालिका वडा नं. २, ३, ४, ५ र ६ का अधिकांश स्थानीयको पनि उस्तै छ। हिमाली गाउँपालिकाका वडा नं. २ का जोबलाल बुढाले बर्खाको समय बाढीपहिरोको डर भयो, यतिबेला पटक–पटक आउँदै गरेको भूकम्पको डर हुने गरेको बताउनुभयो।
उहाँका अनुसार यहाँका स्थानीयवासीलाई उसै त के खाने, कसरी बाँच्ने भन्ने सधैँको चिन्ता छ। उसैमाथि भूकम्पले घर भत्किएपछि घरमा रहेको अन्न लुत्ताकपडा सबै पुरिएपछि अरूको सहारामा बाँच्नु परेको छ।
फागुन १० गते गएको भूकम्पको क्षतिबारे हिमाली गाउँपालिकाले सबै वडाको तथ्याङ्क सङ्कलन गरिएको छ। हिमाली गाउँपालिकाको वडा नं. १ देखि ७ सम्मका नौवटा घर पूर्ण रूपमा क्षति भएको र २८ घर चिराचिरा परेको हिमाली गाउँपालिकाले जनाएको छ।
हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले फागुन १० गते गएको भूकम्पका कारण हिमाली गाउँपालिकामा भएको क्षतिको सबै प्रतिवेदन आएको र गाउँपालिकाले भूकम्पबाट प्रभावित भएकाका ती घरपरिवारका लागि खाद्यान्न तथा त्रिपालको समेत व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो। बाजुरामा माघ १० गते गएको भूकम्पले एक जना महिलाको ज्यान गएको थियो भने ३७ वटा भेडा मरेका थिए। ६१३ घरमा पूर्ण र आंशिक क्षति भएको थियो।