शेरबहादुर सार्की
बाजुरा, फागुन ११ गते। बुधबार बाजुरामा गएको भूकम्पले चार घर र एक बाल विकास केन्द्रको भवनमा क्षति गरेको छ। बुधबार दिउँसो १.४५ बजे बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या आसपासमा केन्द्र बिन्दु बनाएर गएको ५.२ म्याग्नेच्यूडको भूकम्पले सो क्षति गरेको हो।
बाजुरामा अधिकांश घर माटो र ढुङ्गाले निर्माण गरिएका छन्। केही घर धेरै पुराना रहेकोले भत्किएका छन्। दैनिक घर भत्किने क्रम चलिरहेको हिमाली गाउँपालिका स्थानीय करवीर भण्डारीले जानकारी दिनुभयो।
बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ को नेटामा रहेको बाल विकास केन्द्र र विच्छ्या स्वास्थ्य चौकी भूकम्पले पूर्णरुपमा भत्किएको छ। त्यसैगरी सोही गाउँमा ढुङ्गा र माटोबाट निर्माण गरिएका चार घर पूर्णरुपमा नष्ट भएको हिमाली गाउँपालिका सूचना प्रविधि अधिकृत सागर रोकायाले बताउनुभयो। हिमाली गाउँपालिका वडा नम्बर १ र २ का झण्डै चार घर र एक बाल विकास केन्द्र र विच्छ्या स्वास्थ्य चौकीसमेत पूर्णरुपमा भत्किए पनि मानवीय क्षति केही नभएको प्रहरीले जनाएको छ।
माघ १० गते गएको भूकम्पले एक जना महिलाको मृत्यु हुनुका साथै ३६ भेडाबाख्रा समेत मरेका थिए। १०४ पूर्ण ५०९ आंशिक र ४६३ घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।