राजु लामिछाने
रुकुम पश्चिम, फागुन ११ गते । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति नभएमा सत्ता गठबन्धनबाट बाहिरिने बताउनुभएको छ । पुस १० गते वर्तमान सत्ता साझेदार सात दलहरुबीच भएको सहमतिअनुसार एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुनुपने उहाँको भनाइ छ ।
एमालेले सञ्चालन गरेको पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गतको दुईमहिने ‘मिसन ग्रासरुट’ कार्यक्रमको सन्दर्भमा जिल्ला आएका बेला बिहीबार प्रेस चौतारी नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै प्रस्तावमा वर्तमान सत्ता गठबन्धन बनेकाले यही सत्ता गठबन्धन कायम रहने विश्वास रहेको उहाँले बताउनुभयो । राष्ट्रिय सहमतिको पक्षमा एमालेको विमति नरहेको तर सत्ता गठबन्धनबाटै राष्ट्रपति हुनुपर्ने अडान रहेको भट्टराईले बताउनुभयो ।
प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदारी टुटेको घोषणा नगरेको उल्लेख गर्नुहुँदै उहाँले हरेक राजनीतिक दलहरु निर्णय लिन स्वतन्त्र रहेको जनाउनुभयो । नेपाली कांग्रेस, माओवादीसहितको पुरानै गठबन्धनको तर्फबाट राष्ट्रपति चयन भएमा एमालेको भूमिका के रहन्छ ? भन्ने जिज्ञासामा सचिव भट्टराईले एमालेले दुईटा डुङ्गामा खुट्टा नराख्ने, सरकारमा नरहने अवस्था आउने उहाँले बताउनुभयो । सत्ता साझेदार दलहरुले सहमति पालना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहनुभएका भट्टराईले छिटो सत्ता समिकरण बदलेर मुलुकमा अस्थिरता, अन्यौल सिर्जना गर्नुभन्दा अहिलेको सत्ता समीकरणलाई पाँच वर्षसम्म टिकाउन आवश्यक रहेको बताउनुभयो ।
मिसन ग्रासरुट कार्यक्रमले राज्य र जनताबीचको खाडललाई पुर्न सहयोग पुग्ने समेत उहाँले जानकारी दिनुभयो । राज्य र जनताबीचमा छलफलको वातावरण बनाउन एमाले गाउँमा पुग्न थालेको उहाँको भनाइ छ । ‘पार्टीका भेला, बैठक, सदस्यता वितरण, नवीकरण लगायतका काम तीव्र हुनेछन्,’ उहाँले भन्नुभयो, ‘मुलुकमा ७५३ वटै स्थानीय सरकारका कामहरु पनि निगरानी हुनेछन् ।’
अभियानको क्रममा प्रत्येक घरमा पार्टीका कार्यकर्ता पुग्ने, पार्टीभित्रका कमीकमजोरी केलाउने, चुनावको समीक्षा गर्ने र अन्तिममा समीक्षा प्रतिवेदन तयार गरेर पार्टीले नयाँ गतिबाट काम गर्ने सचिव भट्टराईले जानकारी दिनुभयो ।