• १३ मंसिर २०८१, बिहिबार

उद्यमी व्यापारीका समस्याप्रति सरकार गम्भीर

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, फागुन ११ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र गतिमा आर्थिक विकास र समृद्धि हासिल गर्न ठूला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

कोहलपुर उद्योग वाणिज्य सङ्घले कोहलपुरमा आयोजना गरेको उद्योगी तथा व्यापारीसँगको अन्तक्र्रियामा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो । “देशमा उद्योग सञ्चालन गरेर बढीभन्दा बढी उत्पादन गरी आयातलाई निरुत्साहित गर्न सकेनौँ भने आर्थिक सङ्कट झन् बढ्दै जानेछ,” उहाँले भन्नुभयो । 

औद्योगिक विकासका लागि विभिन्न स्थानमा निर्माणाधीन औद्योगिक क्षेत्र र औद्योगिक ग्राम चाँडै पूरा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बाँकेमा निर्माणाधीन नौवस्ता औद्योगिक क्षेत्रको निर्माण सम्पन्न गर्न सके लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको औद्योगिक उत्पादन र रोजगारीका अववसर वृद्धि हुने उहाँले बताउनुभयो । 

मन्त्री भण्डारीले देशमा व्यापारीले झेल्नुपरेको सङ्कट सरकारका कारण नभई ठूला व्यापारीका कारण भएको दाबी गर्नुभयो । उद्योगी र व्यापारीबाट चर्को ब्याज लिने बैङ्क र वित्तीय संस्थाका सञ्चालक नै निजी क्षेत्र रहेको पनि उहाँले बताउनुभयो । निजी बैङ्कको घेराबन्दीका कारण साना तथा मध्यम व्यापारीलाई थप समस्या परेको स्वीकार गर्दै मन्त्री भण्डारीले त्यस्ता समस्या समाधानका लागि सरकार गम्भीर बनेको प्रस्ट पार्नुभयो । 

कोहलपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेल, उद्योगी डोलनाथ खनाल र यातायात व्यवसायी मनप्रसाद आचार्यलगायतले विद्यमान समस्याबारे जानकारी गराउनुभएको थियो ।