• १३ वैशाख २०८१, बिहिबार

घट्दो आयात, बढ्दो दबाब

blog

काठमाडौँ, फागुन ११ गते । एक वर्षअघिदेखि घट्न थालेको वस्तु आयात घट्ने क्रम जारी छ । नेपाल राष्ट्र बैङ्कले गत वर्षको पुसदेखि वस्तु आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेपछि आयात ओरालो लागेको हो । 

भन्सार विभागले बुधबार सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको माघको तुलनामा यस वर्ष सोही महिनाको वस्तु आयात करिब सवा दुई खर्बले रुपियाँ घटेको छ । सरकारले केही वस्तुमा लगाएको प्रतिबन्ध पुसमा हटेको भए पनि आयात बढेन । आयात घट्दा मुलुकबाट बाहिरिने रकम बचत त भएको छ तर सरकारको राजस्वको मुख्य आधारका रूपमा रहेको भन्सार राजस्व सङ्कलनमा भने दबाब बढेको छ । 

विभागका अनुसार माघसम्म नेपालले नौ खर्ब १९ अर्ब १६ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन अघिल्लो माघको तुलनामा २० प्रतिशतले कम हो । आयातजस्तै निर्यात पनि खुम्चिएको छ । गत माघको तुलनामा वस्तु निर्यात २९ प्रतिशतले घटेर करिब साढे ९३ अर्ब रुपियाँमा सीमित छ । 

आयात र निर्यात दुवै घट्दा मुलुकको समग्र अन्तर्राष्ट्रिय व्यापार २१ प्रतिशतले घटेर १० खर्ब १२ अर्ब रुपियाँ पुगेको छ । व्यापार घाटा पनि करिब १९ प्रतिशतले घटेर आठ खर्ब २५ अर्ब रुपियाँ पुगेको छ । व्यापार घाटा पनि सङ्कुचन हुँदा गत आर्थिक वर्षको तुलनामा नेपालको घाटा करिब दुई खर्ब रुपियाँ नजिक छ । 

आयातको तुलनामा निर्यात घट्ने क्रम बढेकाले कुल व्यापारमा निर्यातको हिस्सा गत आर्थिक वर्षको १० दशमलव २९ प्रतिशतबाट घटेर ९ दशमलव २३ प्रतिशत पुगेको छ । आयातको हिस्सा भने ८९ दशमलव ७१ प्रतिशतबाट बढेर ९० दशमलव ७७ प्रतिशत पुगेको छ । 

वस्तुगत हिसाबले पेट्रोलियम पदार्थ नै आयातको सबैभन्दा शीर्ष स्थानमा छ । धेरै आयात भएका मुख्य तीन वस्तुमा डिजेल, पेट्रोल र एलपी ग्यास रहेको तथ्याङ्कमा उल्लेख छ । 

माघसम्म ८४ अर्ब ६१ करोडको डिजेल, ३८ अर्ब ७३ करोड रुपियाँको पेट्रोल र ३३ अर्ब ३४ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ । त्यसपछि २६ अर्ब ४२ करोड रुपियाँको कच्चा भटमास तेल, २३ अर्ब ६६ करोड रुपियाँको फलामबाट बनेका उत्पादन, १८ अर्ब ४५ करोडको कच्चा सुन, १७ अर्ब ७६ करोडको कच्चा पाम तेल र १४ अर्ब ७६ करोड रुपियाँको स्मार्ट फोन आयात भएको छ । 

वस्तु निर्याततर्फ १२ खर्ब रुपियाँको प्रशोधित पाम तेल, आठ अर्ब २७ करोड रुपियाँको भटमास तेल, छ अर्ब ४५ करोड रुपियाँको गलैँचा, चार अर्ब ८९ करोड रुपियाँको अलैँची, दुई अर्ब ८२ करोड रुपियाँको फेल्ट निर्यात भएको छ । 

छत्तीस अर्ब राजस्व घट्यो

आयात घट्दा भन्सार राजस्व सङ्कलन पनि प्रभावित भएको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (माघसम्म) नेपालले भन्सार राजस्वबापत ३६ अर्ब रुपियाँ गुमाएको छ । समीक्षा अवधिमा नेपालले वस्तु आयातबापत कुल ७७ अर्ब ९१ करोड रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ जब कि गत वर्ष माघमा एक खर्ब १४ अर्ब रुपियाँ भन्सार शुल्क उठेको थियो । 

मुलुकभित्र आर्थिक गतिविधि सुस्ताउँदा आन्तरिक राजस्व सङ्कलनमा दबाब भोगिरहेको सरकारलाई आयात घट्दा भन्सार शुल्कको लक्ष्य भेट्टाउन पनि दबाब बढेको छ । लक्ष्यअनुसार कुनै पनि राजस्व शीर्षक पूरा नहुने भएपछि गत माघ २९ गते सरकारले मध्यावधि समीक्षामार्फत बजेटको आकार करिब साढे दुई खर्ब रुपियाँले घटाएको छ । चालू आर्थिक वर्षका बाँकी अवधिमा पनि आयात नबढ्ने तथा आर्थिक गतिविधि सुस्ताएकै अवस्थामा रहे संशोधित खर्च र राजस्व शीर्षक भेटाउन सरकार थप दबाबमा रहनेछ ।