• १३ मंसिर २०८१, बिहिबार

‘पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपति उम्मेदवार बनाइनु हुन्न’

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १० गते । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

महामन्त्री शर्माले पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन उपयुक्त नहुने बताउनुभयो । देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु गलत भएको उहाँको भनाइ छ । 

पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि उहाँले आग्रह गर्नुभयो । महामन्त्री शर्माले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर फेरि म साथीहरुको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कसैलाई राष्ट्रपतिको उम्मेदवार बनाइनु हुँदैन ।”

देउवा हुनुहोस् चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरुले कार्यकारी अधिकार प्रयोग गरिसक्नुभएको छ, उहाँहरुको समर्थनमा नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा उचित हुन्छ उहाँले भन्नुभयो । 

संसदको दोस्रो ठूलो दल एमालेले सभामुख, तेस्रो ठूलो दल माओवादी केन्द्रले प्रधानमन्त्री पद लिएको अवस्थामा संसदको पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उहाँले बताउनुभयो । 

राष्ट्रपति पदमा कांग्रेस उम्मेदवारको उम्मेदवारी रहने उहाँले बताउनुभयो । त्यो उम्मेदवारले सबैले समर्थन गर्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।