• १३ साउन २०८१, आइतबार

‘सत्ता साझेदार दलको उम्मेदवार नै साझा उम्मेदवार’

blog

नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १० गते । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले एमालेले उठाउने उम्मेदवार नै राष्ट्रिय सहमतिको साझा उम्मेदवार हुने बताउनुभएको छ । 

संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै नेता विष्टले सो कुरा बताउनुभएको हो । सत्ता साझेदार दलबीच आन्तरिक रुपमा भएको सहमतिअनुसार नै एमालेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने उहाँको दावी छ ।

उहाँले भन्नुभयो, ‘एमालेले जुन उम्मेदवारलाई राष्ट्रपतिको रुपमा प्रस्तावित गर्छ त्यो उम्मेदवारलाई निर्वाचित गर्ने सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को जिम्मेवार भुमिका रहन्छ भन्ने हाम्रो अपेक्षा हो ।’

एमालेले उठाएको उम्मेदवारलाई निर्वाचित गर्ने सहमति नै आजको सन्दर्भमा राष्ट्रिय सहमति भएको उहाँको भनाइ छ । सत्तारुढ गठबन्धनबीचमा भएको सहमतिअनुसार नै माओवादी केन्द्रले प्रधानमन्त्री पद प्राप्त गरेकाले सोहीअनुसार एमालेले पनि राष्ट्रपति प्राप्त गर्नेछ । सहमतिको इमान्दारीतापूर्वक कार्यान्वयन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।