काठमाडौं, फागुन १० गते । काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ । बालिका प्रशंसा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पतालभित्रै चर्का नाराबाजीसहित धर्ना दिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएका हुन् ।
मोरङका गङ्गा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत डा. जयदेव यादवसँग हिजो (मङ्गलवार) पत्रकार सम्मेलन गरी उचित क्षतिपूर्तिको माग गर्नुभएको थियो ।
आज (बुधबार) पीडित पक्षले सो अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिइरहेका छन् भने चिकित्सक यादवमाथि आक्रोशित हुँदै छानबिन गरी कडा कारबाही गर्न पनि माग गरिरहेका छन् ।
मृतक बालिकाकी आफन्तले ‘मान्छे मार्न पाइँदैन’ ‘ज्यानमारा चिकित्सक चाहिँदैन’ भन्नेजस्ता चर्का नाराबाजी लगाउँदै सो अस्पतालको मुख्य गेटमा ताला लगाइदिएका छन् । पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरुको माग सम्बोधन नगरे अस्पतालमा तोडफोड गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंसालाई बुबा गङ्गा गौतमले उपचारका लागि सो अस्पताल पुर्याएका थिए । तर सो अस्पतालमा कार्यरत डा. यादवले कुनै परीक्षण नगराई औषधि दिएको र बिरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षर पनि नगरेर लापरबाही गरेकाले छोरीको ज्यान गएको पीडित पक्षको आरोप छ ।
पीडित गौतमले डा. यादवको लाइसेन्स खारेज गर्न र आफूहरुलाई उचित क्षतिपूति दिलाउन माग गर्दै गत फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसाेसिएसन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिनुभएको छ । त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको पीडित गौतमले जानकारी दिनुभयो ।
प्रशंसाको १३ औं पुण्यतिथि सकिएपछि पीडित पक्षले सो अस्पताल परिसरमै धर्ना दिन सुरु गरेका हुन् । गौतमले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताउनुभयो ।