• १३ वैशाख २०८१, बिहिबार

सांसद भण्डारीसँग तत्काल भेटघाट नगर्न शुभचिन्तकलाई चिकित्सकको आग्रह

blog

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी । फाइल तस्बिर

काठमाडौं, फागुन १० गते । ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसँग तत्काल भेटघाट नगर्न शुभचिन्तकलाई चिकित्सकले आग्रह गरेको छ ।

कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारी कम्तीमा २१ दिनसम्म ब्याण्डेजमा रहनुहुने हुँदा इन्फेक्सन हुने सम्भावना भएकाले शुभचिन्तकलाई तत्काल भेटघाट नगर्न चिकित्सकले आग्रह गरेको जानकारी दिनुभयो ।

कँडेलले उपचारमा संलग्न चिकित्सकको सुझाव अनुसार भण्डारीलाई तत्काल शुभचिन्तकलाई भेटघाट नगर्न आग्रह गर्नुभएको हो ।

कँडेलका अनुसार भण्डारीलाई आजबाट मुखबाट खाना खुवाउन सुरु गरिएको छ । मङ्गलबारसम्म पाइपबाट खुवाउने गरेकोमा आज (बुधबार) बाट मुखबाट खाना खुवाउन सुरु गरिएको कँडेलले जानकारी दिनुभयो । 

प्रेसर मास्क अक्सिजन ५ लिटर झारिएको छ भने यो भोलिसम्म परीक्षणमै रहने कँडेलले जानकारी दिनुभयो ।  उहाँको उपचारमा संलग्न डा.प्रशान्त महाराणेका अनुसार भण्डारीका पारामिटरहरु नर्मल रहेका छन् । नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । घटनालगत्तै उहाँहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।

आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमै निधन भएको थियो । नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको थियो ।