• ११ मंसिर २०८१, मङ्गलबार

पुतलीबजार नगरपालिका ९४ जनाको मोतियाबिन्दुको शल्यक्रिया

blog

मोतियाबिन्दुको शल्यक्रिया पश्चात वृद्धवृद्धाहरु । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, फागुन १० गते । 
पुतलीबजार नगरपालिकाले मोतियाबिन्दु मुक्त बनाउने अभियान अगाडि सारेको छ । जसअन्तर्गत ९४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

नगरपालिकाले हिमालयन आँखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती सङ्घको सहयोगमा तीन हप्ता निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।

शिविरमा आँखा परीक्षण, औषधि र चस्मा वितरणसहित मोतियाबिन्दु देखिएका बिरामीको शल्यक्रिया गरिएको हो ।

शिविरमा चार हजार ४२८ जनाले आँखा परीक्षण गराएको छन् । परीक्षण गराएका मध्ये ९०२ जनालाई चस्मा उपलब्ध वितरण गरिएको थियो भने एक हजार ९४ जनालाई औषधि प्रदान गरिएको थियो ।

यसैगरी, १५३ जनामा मोतियाबिन्दु देखिएकामध्ये ५९ जना प्रेसर, सुगरका बिरामी भएकाले शल्यक्रिया नभएको र समय मिलाएर शल्यक्रिया गर्ने स्वास्थ्य शाखा अधिकृत भवानीशंकर पोखरेलले जानकारी दिनुभयो ।

मोतियाबिन्दुका कारण गुम्नसक्ने दृष्टि विहीनतालाई ध्यान दिँदै नगरपालिकाले निःशुल्क आँखा शिविरसहित मोतियाबिन्दु शल्यक्रियाको आयोजना गरेको नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।

नगरपालिकाका कसैले पनि मोतियाबिन्दुका कारण समस्या भोग्नु नपरोस् भन्ने पालिकाको उद्देश्य रहेको रेग्मीको भनाइ छ ।

पालिका मोतियाबन्दु मुक्त बनाउने अभियान देशमै पहिलो भएको नेत्रज्योती सङ्घका केन्द्रीय सभापति चेतराज पन्तले बताउनुभयो ।

स्याङ्जामा गरिएको सर्वेक्षणअनुसार यहाँका कुल जनसङ्ख्यामध्ये ३५० जना दृष्टिविहीन र करिब ४५ हजारको आँखामा समस्या रहेको जानकारी दिनुहुँदै सभापति पन्तले अन्तर्राष्ट्रिय स्तरमा आँखा उपचारमा नेपाल अग्रणी स्थानमा रहेको बताउनुभयो ।

मोतियाबिन्दु शल्यक्रियामा डा. हरिविक्रम अधिकारी, डा अस्मिता लामिछानेसहित १५ जनाको प्राविधिक टोलीको सहभागिता थियो ।