• ११ मंसिर २०८१, मङ्गलबार

चैतालो महोत्सव हुने

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन १० गते । हुम्लावासीको महत्त्वपूर्ण पर्व चैतालोका अवसरमा महोत्सव हुने भएको छ । देउडालगायत स्थानीय परम्परागत संस्कृति जगेर्ना गर्न महोत्सव गर्न लागिएको हो । महोत्सव आयोजक समितिका संयोजक धर्मराज रोकायाले चैतालो पर्वका अवसरमा फागुन १४ गते एकदिने महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

फागुन १२ र १३ गते हुम्लाको सिमकोट गाउँपालिका–१, २, ५ र ६ मा चैतालो पर्व मनाइने गरिन्छ । उहाँले देउडाको जगेर्ना गरी स्थानीय वेशभूषाको संरक्षण गर्न पहिलो पटक महोत्सव गर्न लागिएको बताउनुभयो । महोत्सवमा अछामकी देउडा गायिका बेला रोकाया, बाजुराका देउडा गायक दत्त मल्ल र हुम्लाको ताँजाकोट निवासी अक कार्कीलाई आमन्त्रण गरिएको छ ।  उहाँहरू तीनै जनाबाट देउडा नाच प्रस्तुत गरिनेछ । 

यसमा स्थानीय महिला र पुरुषले सहयोग गर्नेछन् । महोत्सवमा स्थानीयले परम्परादेखि खेल्दै आएको ढुङ्गा फाल्ने (सटफुट), डोरी तान्ने र भाले टिप्ने खेल खेलिनुका साथै स्थानीय संस्कृति झल्कने पहिरन र वेशभूषा पनि प्रस्तुत गरिने बताइएको छ ।