स्याङ्जा समाचारदाता
स्याङ्जा, फागुन १० गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादा नभुल्ने बताउनुभएको छ । कालीगण्डकी गाउँपालिका–७ मा कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद महोत्वसमा सभामुख घिमिरेले आफ्नो काम ऐन कानुन बनाउने र संसद् चलाउने भएकाले कानुनभित्र रहेर काम गर्ने बताउनुभयो । हिजो कसले के ग¥यो, त्यसप्रति आफूलाई कुनै चासो नरहेको बताउँदै आफू हिजो जुन राजनीतिक दलमा रहे पनि अहिले स्वतन्त्र भएकाले स्वतन्त्र नै भएर काम गर्ने बताउनुभयो । कालीगण्डकीले खानेपानी, भौतिक पूर्वाधार, सडकमा गरेको विकासको फड्कोले आफूलाई अचम्म पारेको उहाँको भनाइ थियो ।
जातजाति र संस्कृतिको रक्षाका लागि आफ्ना तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताउँदै घिमिरेले यहाँको जातीय संस्कृति देखेर लोभ लागेको बताउनुभयो । सभामुख घिमिरेले विकास र खेलकुद एकअर्काका परिपूरक रहेकाले त्यसमा आफ्नो चासो रहने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य महेश भट्टराई, पूर्वप्रदेश सभा सदस्य मोहन रेग्मी, पालिका अध्यक्ष खिमबहादुर थापालगायतले गाउँको विकासमा सबैको समान चासो हुनुपर्नेमा जोड दिनुभयो ।
कालीगण्डकी अस्पतालको नयाँ भवन २१ करोड ५७ लाख ६८ हजार ५०२ रुपियाँमा निर्माण हुन लागेको हो । १३ रोपनीमा बन्ने १५ शøयाको अस्पताल दुई ब्लकमा रहनेछन् । दुई ब्लकलाई आपसमा आरसीसी ब्रिजले जोड्ने प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बताउनुभयो । ‘ए’ ब्लक ४५५ र ‘बी’ ब्लक ७०४ वर्गमिटरमा रहने पाण्डेले बताउनुभयो ।