• १३ साउन २०८१, आइतबार

‘सहमति तोडे सरकार समस्यामा पर्छ’

blog

म्याग्दी सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै एमाले सचिव एवं पुर्वमन्त्री पद्मा अर्याल । तस्बिर : साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ) ,फागुन ९ गते । सत्ता साझेदार दल नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले गत पुस १० गतेको सहमति तोडे नेकपा (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार समस्यामा पर्ने बताउनुभएको छ । मङ्गलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएकी अर्यालले सो कुरा बताउनुभएको हो । 

‘पुस १० मा भएको सहमतिअनुसार राष्ट्रपति पद एमालेले पाउनुपर्छ । माओवादीले पनि सहमतीको पालना गर्नुपर्छ’ उहाँले भन्नुभयो । माओवादीले सहमति पालना नगरे एमालेसँग अन्य धेरै विकल्प रहेको उहाँको भनाइ छ ।

राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन चर्चा गर्नुहुँदै पूर्वमन्त्री अर्यालले पुस १० गतेको सहमति तोडिए राजनीतिले नयाँ कोर्स लिने दावी गर्नुभयो । वर्तमान गठबन्धन नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जागेकाले यसलाई जोगाएरै जाँदा मुलुक र जनताको हित हुने उहाँले बताउनुभयो ।

पार्टी सङ्गठनलाई थप सुदृढ र विस्तार गर्न एमालेले फागुन र चैत गरी दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उहाँले चर्चा गर्नुभयो ।