• ११ मंसिर २०८१, मङ्गलबार

अस्ट्रेलियामा नेपथ्यको अन्तिम प्रस्तुति

blog

गोरखापत्र समाचारदाता

होबार्ट, फागुन ९ गते । एन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अस्ट्रेलिया शृङ्खलाबद्ध यात्राको समापन भएको छ ।

अस्ट्रेलियाका अन्य प्रान्तीय राजधानीभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्त्वको १०७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो । 

शुक्रबार स्थानीय समयअनुसार बेलुकीको ठीक ७ः३० बजे हलका ढोका खुला गरिएको थियो भने ठीक ९ः०० बजेदेखि कन्सर्ट सुरु भएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्यान्ड स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट सुरु गरियो । त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिङ्गो कार्यक्रम अवधिभर जारी रहन पुग्यो ।    

कन्सर्टका बेला सधैँजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुबिन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।