नविन सुवेदी
सुर्खेत, फागुन ८ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कांग्रेस नवीनतम तरिकाले अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो पटक सबैभन्दा ठूलो पार्टी भएर पनि सत्तामा आफ्नै कमजोरीका कारण पुग्न नसकेको उहाँले बताउनुभयो ।
“अब कांग्रेसलाई बदल्नु पर्छ, बदल्छौँ र देशभरिबाट बहुमत ल्याई आगामी दिनमा सिंहदरबारको नेतृत्व गर्नेगरी जानुपर्ने मनोविज्ञान आम कार्यकर्ताले बनाउनुपर्छ” महामन्त्री शर्माले भन्नुभयो । नेकपा (एमाले) ले सामाजिक सुरक्षा भत्तालाई हतियार बनाएर मत माग्नेगरेको उहाँले टिप्पणी गर्नुभयो ।
भत्ता एमालेले सुरुवात गरे पनि त्यसलाई १०० बाट तीन सय बनाउने काम कांग्रेस नेतृत्वको सरकारले गरेको उहाँले दाबी गर्नुभयो । कांग्रेसले आफूले गरेको काम जनतामा बुझाउन नसकेको उहाँको भनाइ छ । कांग्रेसले आफूले गरेको कामको भाग खोज्नुपर्ने उहाँले बताउनुभयो ।
समाजमा केही हुन सकेन भन्नेखालको कुराले जनतामा असन्तुष्टि पैदा गरिरहेको चर्चा गर्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो ‘आफूले गरेको कामलाई जनताकोबीचमा बुझाउन सक्नुपर्छ ।