• १३ साउन २०८१, आइतबार

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

blog

पार्टी केन्द्रीय कार्यालयमा जारी नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक ।

काठमाडौं, फागुन ८ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक केन्द्रीय कार्यालयमा जारी रहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले पदाधिकारी बैठक जारी रहेको जानकारी दिनुभयो । बैठकमा राष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुने जनाइएको छ ।

बैठक परिसरमा बोल्नुहुँदै महासचिव देव गुरुङले संविधानको मर्म र भावना अनुसार राष्ट्रपति उम्मेदवारमा सहमति हुनुपर्नेमा जोड दिनुभयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “संविधानले राष्ट्रपति सत्तापक्ष वा प्रतिपक्ष भन्ने हुँदैन । राष्ट्रपतिलाई साझा व्यक्तित्व, राष्ट्रिय एकताको प्रतीकको रूपमा, दलभन्दा पृथक् खालको स्वतन्त्र व्यक्तिको रूपमा स्थापना गर्ने परिकल्पना संविधानले गरेको छ । त्यसकारण, संविधानले जे परिकल्पना गरेको छ, त्यही गरेका छौँ ।”

राष्ट्रपति पदका लागि दलहरूले प्रस्ताव ल्याउनु स्वाभाविक भएको भनाइ राख्नुहुँदै उहाँले जसले राष्ट्रियता, गणतन्त्र र मुलुकको पक्षमा रहेर साझा सहमति बन्न सक्ने पात्र सिफारिस गर्न त्यसमा सबैले समर्थन गर्नसक्ने खालको सम्झौता हुने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, स्थायी समिति सदस्य पम्फा भुसाल, नेताहरू कृष्णबहादुर महरा, अग्नि सापकोटा लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।