निशा राई
धरान, फागुन ७ गते । धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ ।
कोभिडको कारण दुई वर्ष रोकिएको बुढासुब्बा गोल्डकप फुटबल यसवर्ष रोजगार मुलक र व्यवसायी मुलक बनाउने योजनासहित नयाँ ढगंमा शुरु गर्न लागिएको बुढासुब्बा फुटबलको अध्यक्ष तथा एन्फा प्रदेश १ का पूर्व अध्यक्ष किशोर राईले बताउनुभयो । उहाँको अनुसार यसपाली स्थानिय क्लबहरुलाई प्राथमिकतामा राख्ने गरी प्रतियोगिता आयोजना गर्न लागिएको छ ।
२०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण पहिलो पटक लगातार २ वर्ष रोकिएको हो । यही फागुन १३ गतेदेखि फागुन २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने आईतबार पत्रकार सम्मेलन गरी क्लबको उपाअध्यक्ष घनश्याम बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँको अनुसार प्रतियोगितामा वंगलादेश र क्यामरुनका सहित आठ टोलीको सहभागीता रहनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ ।
उत्कृष्ट खेलाडीलाई एक लाख रुपियाँ, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार, प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
यसपटक पत्रकारिता अवार्ड स्वरुप एकजना पत्रकारलाई १५ हजार रुपियाँबाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करोड नौ लाख ५० हजार लाग्ने बताईएको छ ।