• १६ चैत २०८०, शुक्रबार

२४ वर्षपछि नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिप

blog

एसियन क्रस कन्ट्री च्याम्पियनसिप बारे जानकारी दिँदै एथलेटिक्स संघका पदाधिकारी । तस्बिर : ग्राफिक आर्टस

काठमाडौं, फागुन ७ गते । १६औँ संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स सङ्घले फागुन २३ गते च्याम्पियनसिप आयोजना गर्न लागेको हो । 

नेपालले २४ वर्षपछि एसियन क्रस कन्ट्री च्याम्पियनसिप आयोजना गर्न लागेको नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहले जानकारी दिनुभयो । च्याम्पियनसिपका खेलहरू गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा निर्मित ‘रुट’ मा हुनेछ । यसअघि सन् १९९९ मा गाकेर्णमै यस च्याम्पियनसिप आयोजना भएको थियो । 

लामो समयपछि नेपालले आयोजनाको अधिकार पाएको यस च्याम्पियनसिपलाई नेपालको खेल पर्यटन र आर्थिक हिसाबले महत्त्वका साथ हेरिएको सङ्घका अध्यक्ष शाहले बताउनुभयो । एसियन एथलेटिक्स एसोसिएसनको तत्त्वावधानमा हुने प्रतियोगितामा एसियाका २५ देखि ३० देशका करिब तीन सय ६० खेलाडीको सहभागिता रहनेछ ।

च्याम्पियनसिपमा सिनियर पुरुष र महिलातर्फ १० किमी, यू–२० वर्षमुनि जुनियर पुरुषको ८ किमी र यू–२० वर्षमुनि महिला जुनियरतर्फ ६ किमी गरी चार स्पर्धा समावेश गरिएको छ । एउटा देशले एक स्पर्धामा पाँच जनासम्म खेलाडी सहभागी गराउन पाउनेछ । 

यस च्याम्पियनसिपका नेपालबाट सहभागिता जनाउने खेलाडीको फागुन ९ गते खुला छनोट हुने र छनोटमा पर्न सफल खेलाडीलाई १० दिन बन्द प्रशिक्षणमा राखिने सङ्घले जनाएको छ । च्याम्पियनसिपमा जापान, ताइवान, हङकङ, कोरिया लगायत देश बलिया प्रतिद्वन्द्वी हुन् । नेपालले कम्तीमा दक्षिण एसियाली देश (साग क्षेत्र) मा राम्रो नतिजा ल्याउने लक्ष्य राखेको एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न तीन करोड ६५ लाख ५५ हजार पाँच सय रुपियाँ खर्च हुने बताइएको छ । जसका लागि बागमती प्रदेश खेलकुद परिषद्ले ३० लाख रुपियाँ सहयोग गरेको परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

‘‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुनु भनेको खेलकुदसँगै देशको आर्थिक विकासमा सहयोग पुग्ने हो । यसबाट नेपाली खेलाडीले पनि थप एक्पोजर पाउनेछन् । विदेशका राम्रा खेलाडी नेपालमा आउँदा नेपाललाई नै फाइदा हुने भएर सहयोग गरेका हौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल सरकारले पनि यसलाई सफल पार्न सहयोग गर्ने अपेक्षा गरेका छौँ,’’ भण्डारीले भन्नुभयो ।

च्याम्पियनसिपलाई एसियन एथलेटिक्स एसोसिएसनले पनि २५ हजार अमेरिकी डलर सहयोग गरेको सङ्घले जनाएको छ । च्याम्पियनसिपमा खेलाडी र अफिसियलको आवासका लागि मात्र एक करोड ५० लाख रुपियाँ खर्च हुने बताइएको छ । च्याम्पियनसिपको दौरानमा एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्षलगायत पदाधिकारी पनि नेपाल आउनेछन् ।