• १३ साउन २०८१, आइतबार

गोरखापत्र संस्थानलाई राससको उत्कृष्ट सेवाग्राही सम्मान

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उत्कृष्ट सेवाग्राही सम्मान ग्रहण गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी। तस्बिर : कविता थापा

काठमाडौं, फागुन ७ गते। राष्ट्रिय समाचार समिति (रासस)ले गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ । आइतबार राससको ६२ औं वार्षिकोत्सव समारोहमा गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको हो । 

उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गर्नुभएको हो । राससले गोरखापत्र संस्थानसँगै हिमालय टाइम्स र लोकान्तर डटकमलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ । 


समाराेहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट राससको उत्कृष्ट सेवाग्राही सम्मान ग्रहण गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी। तस्बिर : कविता थापा

राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। सँगै राससका बारेमा प्रकाशित पुस्तकसमेत विमोचन भएको छ। निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर वि.सं २०१८ फागुन ७ गते स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो। संस्थापक अध्यक्ष रामराज पौड्याल रहनुभएको राससमा नेपाल संवाद समितिका गोविन्द वियोगी र सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो। वि.सं २०१८ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो।


गोरखापत्र संस्थानले पाएको उत्कृष्ट सेवाग्राही सम्मान लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट बधाई ग्रहण गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी। साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईलगायत ।