• २४ वैशाख २०८१, सोमबार

नेपाल र भारतको दुवै खेल बराबरी

blog

दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, फागुन ७ गते । नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल पनि बराबरीमा सकिएको छ । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल र भारत गोलरहित बराबरीमा रोकिए । 

यसअघि फागुन ३ गते राति भएको पहिलो मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो । पहिलो खेलमा नेपालले खेलको अन्तिम ९० मिनेट पछि बराबरी गोल फर्काएको थियो ।

शनिबारको खेलमा दुवै टोलीले गोलका लागि राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो खेलमा नेपालका लागि दुवै गोल सावित्री भण्डारीले गर्नुभएको थियो ।

नेपालले काठमाडौंमा गत भदौमा भएको महिला साफ च्याम्पियनसिपपछि भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको हो । दशरथ रङ्गशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो ।

ओलम्पिक छनोट खेलको तयारीका लागि भारतले नेपाललाई दुई वटा मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो । नेपालले पनि यस मैत्रीपूर्ण खेललाई आगामी अप्रिलमा हुने ओलम्पिक छनोट खेलको तयारीमा रूपमा लिएको छ । 

ओलम्पिक छनोट अन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छ । यस्तै भारत समूह ‘जी’ मा रहेको छ । भारतको समूहमा तुर्कमिनिस्तान र किर्गिस्तान रहेका छन् ।