• १९ असार २०८१, बुधबार

सांसद अरुणकुमार चौधरी रिहा

blog

कैलाली कारागारबाट रिहा हुनुहुँदै नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह
धनगढी, फागुन ७ गते ।
 नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी रिहा हुनुभएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आइतबार कैलाली कारागारबाट रिहा हुनुभएको हो ।

उहाँ जेलमुक्त भएपछि स्वागत गर्नका लागि नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरीसहित शुभचिन्तक र सर्मथकहरु उपस्थित हुनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गर्नुभएको थियो । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश छ । जसमा सांसद चौधरी पनि हुनुहुन्छ ।

१३ वर्षअघि  २०६६ साल भदौ ३ गते सांसद अरुणसहितले लम्कीको धोबेनी खोला नजिक ढुङ्गा बोकेको एक ट्याक्टर जलाएको आरोप लागेको थियो ।

कैलाली जिल्ला अदालतले २०७० साल वैशाख ९ गते सांसद अरुणसहित तीन जनालाई सो मुद्दामा ६ महिना कैद र बिगो बापत आठ लाख १९ हजार रुपियाँ जरिवानाको फैसला गरेको थियो ।

तर, अरुण तथा अन्य दुई जनाले कैद भुक्तान गर्नुभएको थिएन । अरुण २०७४ सालको निर्वाचनमा लम्कीचुहा नगरपालिका प्रमुखमा चुनाव लड्नुभएको थियो भने सोही वर्ष मङ्सिरमा प्रदेश सभा सदस्यको उम्मेदवार पनि हुनुभएको थियो ।

प्रहरीको फरार सूचीमा रहेका उहाँलाई केही दिनअघि बाँके प्रहरीले कोहलपुरबाट पक्राउ गरिएको थियो । हाल उहाँको तर्फबाट उत्प्रेरणाको परमादेश तथा बन्दी प्रत्यक्षीकरणको मुद्दा उच्च अदालत दिपायलमा विचाराधीन छ ।