• १० मंसिर २०८१, सोमबार

लोकतन्त्रको अभ्युदयमा

blog

मत्ता कुञ्जर बाघसरिका, राजा रजौटा थिए 

आफ्नै सन्तति इष्टमित्र पछुवा दर्ज्यानिमा अग्लिए ।

नाना जात विभेद खाडल ठूलो, अन्यायको शासन 

चल्थ्यो घोर कठोर दण्ड बलमा, लुट्दै प्रजाका धन ।


सत्ता पाउन हानमार कति भो, उस्तै चले साजिस 

सोझा जो दुनियाँ प्रजाजन कतै, गर्दैनथे नालिस ।

जो बन्थे विधि ऐन कानुन सबै, सानातिना खातिर 

ठालू ऐन मिचेर चैन सुविधा, लिन्थे उठाई शिर ।


चर्को मत्स्य कठोर न्याय कसरी मानेर हिँड्ने अब

झर्को भेदविभेद तोड्न अहिल्यै, सङ्घर्ष जोडौँ सब ।

योद्धा वीर सपूतका हृदयले, आह्वान गर्दै उठे 

पिल्सेका जनता प्रफुल्लित हुँदै, मौरी बनेरै जुटे ।


गोली थाप्न तयार भै नव युवा, फाँसी चढे हर्षमा

राणातन्त्र ढलेर बल्ल जनता हाँसे नयाँ वर्षमा ।

होली खेल्न तयार भै रगतको, ती राक्षसी शासक

बोल्दैथे प्रतिक्रान्तिका भ्रम छरी, भारण्ड नालायक । 


योद्धाका पसिना र रक्तकणले लाली छ-यो पूर्वमा

निष्ठा स्वच्छ विचार जग्मग बने, चोखो प्रजातन्त्रमा ।

धेरैका बलिदान मान ममता, फुल्दै  बहोस् वासन

पूरै दम्भ अहं घमण्ड छिमली, सद्धाम होस् आसन ।