राजन रावत
हुम्ला, फागुन ६ गते । सिमकोट गाउँपालिका –५ स्थित सिमसार क्षेत्रमा रहेको रङ्गशालामा निर्माण भइरहेको प्यारापिटको निर्माण कार्य अलपत्र परेको छ । सो प्यारापिट निर्माणका लागि पहिलो वर्ष बजेटको व्यवस्था भए पनि त्यसयता बजेटको व्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिदै आएको हो ।
हुम्ला फुटवल ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जमिनस्तरमा निर्माण भएर त्यसपछि निर्माण कार्य अगाडि बढ्न नसकेको खेल मैदानको प्यारापिटको निर्माण कार्य अनिश्चित रहेको बताउनुभयो । पहिलो वर्ष कर्णाली प्रदेश सरकारले ९२ लाख बजेको व्यवस्था गर्दा डीपीसी गर्ने काम भएको थियो ।
त्यसयता प्रदेश सरकारबाट बजेटको व्यवस्था नभएपछि निर्माण कार्य अलपत्र पर्दैआएको छ । गाउँपालिकाले आन्तरिक स्रोत नभएको बन्दै सो निर्माण कार्यबाट पन्छिदैआएको छ । निर्माण कार्य अगाडि नबढ्दा अधुरो रहेको प्यारापिटका लागि गाडिएका छडमा खिया लाग्न थालेको छ । गतवर्ष सो निर्माणका लागि बिनियोजित भएको बजेट गाउँपालिकाले मिलन कोषमा बजेटको ब्यवस्था नगर्दा सो बजेट फिर्ता गएको थियो ।
यसरी कहिले बजेट विनियोजित नहुने र कहिले मिलन कोषका नाममा फिर्ता जाने हुँदैआएको कारण प्यारापिट निर्माण कार्य अनिश्चित रहँदैआएको छ । हाल फुटबल लगायतका खेलकुद गतिविधि सञ्चालन हुँदा दर्शकहरु धुलाम्मे मैदानमा बस्दैआएका छन् ।