• १३ साउन २०८१, आइतबार

‘समीकरण बन्दाको सझदारीअनुसार एमाले अघि बढ्छ’

blog

मिसन ग्रासरुट एमाले पार्टी सुदृढीकरण तथा विस्तार अभियानको शुक्रबार धनुषाको जनकपुरमा उदघाटन मन्तव्य दिनुहुँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, फागुन ५ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दलहरुबीचमा समीकरण बन्दाको समझदारी बमोजिम एमाले अघि बढ्ने बताउनुभएको छ । एमालेले फागुन ५ गतेदेखि दुई महिनासम्म सञ्चालन गर्ने मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानको शुक्रबार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

“समीकरणभित्र भएको समझदारी कायम हुनुपर्छ र त्यसअनुसार एमाले अघि बढ्छ, दायाँबायाँ हुँदैन” उहाँले भन्नुभयो । दलीय प्रणालीमा दलकै मान्छे राष्ट्रपति हुने र पछि दलको सदस्यता त्याग गरेपछि राष्ट्रको लागि कामकाज गर्नुपर्ने व्यबस्था रहेको भन्दै राष्ट्रिय सहमतिको नाम दिएर कांग्रेसले बखेडा मात्र खडा गरेको बताउनुभयो । गत पुस १० गते अघि कहिल्यै राष्ट्रिय सहमतिको कुरा नगर्ने दल कांग्रेसले पछिल्लो समय राष्ट्रिय सहमतिको कुरा गरेर गठबन्धन भत्काउने प्रयासमा लागेको उहाँले टिप्पणी गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संगठनभित्र धेरैखालका समस्या देखिएपछि सङ्गठनको सुधारका लागि ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो । गाउँगाउँमा पुगेर जनतालाई एमालेसँग जोड्न सबै तहका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 

कार्यक्रममा एमालेका सचिव एवम मधेश प्रदेशका इन्चार्ज रघुवीर महासेठले मधेश प्रदेशको १३६ वटै पालिकामा सङ्गठन सुदृढीकरण तथा विस्तारका लागि मधेश प्रदेशका ३१ जना केन्द्रीय सदस्यसहित आवश्यकता अनुसारको नेता परिचालन गरिएको बताउनुभयो । उहाँले विगतमा एमालेले जनताका लागि गरेको कामकाजकै कारण मधेश प्रदेशमा एमाले सबैभन्दा ठूलो दल भएको बताउनुभयो । आउने दिनमा बहुमत आउने किसिमले पार्टीलाई जनतासँग जोडन नेता कार्यकर्तालाई आव्हान गर्नुभयो । 


कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले यस प्रकारको अभियानले मधेश प्रदेशमा एमालेलाई समाजिक आर्थिक रुपान्तरण गर्ने पार्टीको रुपमा विकास गरिने बताउनुभयो । एमाले मधेश प्रदेशका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका नेता लालबावु पण्डित, सीता पौडेल, लीलानाथ श्रेष्ठलगायतकाले आफनो धारणा राख्नुभयो । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु, आठवटै जिल्लाका अध्यक्ष, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र मधेश प्रदेश सरकारमा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको सहभागिता थियो ।