• ७ जेठ २०८१, सोमबार

बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

blog

बुटवलको देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर,फागुन ५ गते ।
बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताउनुभयो ।


उहाँले खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै सुरुवात गर्नुपर्ने बताउनुहुँदै विद्यालय तहमा खेलाडी उत्पादनका लागि सहकार्य गर्न बुटवल उपमहानगरपालिका सधैँ तयार रहेको बताउनुभयो ।

प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, औद्योगिक, पर्यटकीय नगरका रूपमा स्थापित भइसकेको बताउनुहुँदै खेलका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न खेलक्षेत्रका सबैको साथ जरुरी रहेको जानकारी दिनुभयो । उहाँले बुटवलमा फुटबल, टेबलनटेनिस, ब्याडमिन्टनलगायतका राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना हुने गरेको र आगामी दिनमा अन्य प्रतियोगिता पनि आयोजना गर्ने गरी लाग्न खेलकुद क्षेत्रका व्यक्तिहरूलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका हरि क्षेत्रीले जिल्लाको खेलकुदलाई स्तरीय बनाउनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागततर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा चार सय ९४ टीमका एक हजार ९१ विद्यार्थी सहभागी रहेको उहाँले बताउनुभयो ।


प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूलाई क्रमशः १५, १० र पाँच हजार रुपियाँ र नगद प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति देखाएको थियो ।