• ११ मंसिर २०८१, मङ्गलबार

लामा समुदायका महिलाको नाच ठाइकोर

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन ५ गते । हिमाली भेगका लामा समुदायका महिलाले परम्परगत पोसाक र गरगहना लगाएर नाच्ने नाच हो, ठाइकोर । विशेष पर्व र मेलामा गाउँभरिका महिला मिलेर यो नाच नाच्ने गर्छन् । 

सिमकोट गाउँपालिका–३ की छपाल लामाले ठाइकोर नाच महिलाको विशेष भएको बताउनुभयो । बहुमूल्य गरगहना, परम्परागत पोसाकसहित महिलाहरू सजिएर यो नाच नाच्ने र गीत गाउने गर्छन् । शुभ कार्यका बेला पनि महिलाहरू ठाइकोर टाउकोमा पहिरिएर नाच्ने गर्छन् । ठाइकोरमा सुन, चाँदी, हीरा, मोतीलगायतका बहुमूल्य धातु जडान गरिने भएकाले यसको मूल्य पनि महँगो पर्छ । यो नाचका लागि महिलाले लगाउने कपडा पनि फरक हुन्छ । उहाँले ठाइकोर कति मूल्यको निर्माण गर्ने भन्ने कुरा घरको आर्थिक अवस्थासँग जोडिने बताउनुभयो ।

आफ्नो घरको आर्थिक अवस्थाअनुसार ठाइकोरको व्यवस्था गर्नुपर्ने भएका कारण घरमा जति महिला हुन्छन्, तिनका लागि छुट्टाछुट्टै ठाइकोरको व्यवस्था गर्नुपर्छ । ठाइकोरको आकार हेरेर पनि महिला कस्तो घरका हुन् भन्ने बुझ्न सहज हुन्छ । माने र ल्होसारमा महिलाहरू ठाइकोर पहिरिएर नाच्ने गर्छन् । पछिल्ला दिनमा लामा महिलाले विशेष समारोह र कार्यक्रममा समेत यो नाच नाच्दै आएका छन् ।