• १२ मंसिर २०८१, बुधबार

यात्रु चढेको गाडी काली गण्डकीमा खस्यो, १८ घाइते

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन ३ गते । जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस आज काली गण्डकी नदीमा खसेको छ । गाडीमा सवार १८ जना घाइते भएका छन् । 

थासाङ गाउँपालिका –३ घम्पुबाट गाडी कालिगण्डकी नदिमा खस्दा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकामध्ये चालक र सहचाकसहित १३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा सामान्य उपचारपछि थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । घाइते ५ जना सामान्य उपचार पछि घर फर्केका छन् । 

खलासीले गाडी चलाएका कारण गाडी अनियन्त्रित भई नदीमा खसेको थासाङ गाउँपालिका–३ धम्पुका खाङ्लो थकाली भान्सा घरका सञ्चालक महेन्द्र गौचन (५०) ले बताउनुभयो ।  गाडीमा आफू पनि सवार भएको भएपनि भाग्यले बाँचेको उहाँले बताउनुभयो ।

गाडी दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी, जिल्ला अस्पताल मुस्ताङबाट डा. कृष्ण भरखेरलगायतको टोली घटनास्थल पुगेको थियो । 

प्रजिअ केसी आफै घटनास्थल पुगेर उद्धारमा खट्नुभएको थियो । दुर्घटनाको यकिन कारण पत्ता नलागे पनि चालक पछाडि फर्केर हेर्दा गाडी अनियन्त्रित हुन पुगेको घाइतेहरूको भनाइ छ । म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले गाडीचालक अनुभवी चालक रहेको दाबी गर्नुभयो ।