• ४ जेठ २०८१, शुक्रबार

राजधानी जग बस्यो, अब पालो समृद्धिको : मुख्यमन्त्री गिरी

blog

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, फागुन ३ गते । लुम्बिनी प्रदेशको छैटौँ प्रदेश स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा रहेर योगदान दिनुभएका ६१ जनालाई विभिन्न पदकले विभूषित गरेको छ ।

पुरस्कृत हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पहिलो कार्यकालमा सरकारले प्रदेश राजधानीको नाम र ठाउँमा सवालमा निर्णय गरेको बताउनुभयो । राजधानी कार्यान्वयनको सवाललाई चुनौती र अवसरको रूपमा वर्तमान सरकाले लिएको उहाँको भनाइ छ । 

‘अघिल्लो सरकारले राजधानीको सवालमा महत्त्वपूर्ण निर्णय गरेको छ, वर्तमान सरकारलाई कार्यान्वयन गर्ने चुनौती र अवसर छ । यसपटक सरकारले राजधानीको जग बलियो बनाएको छ, अव यहाँको समृद्धिका लागि काम गर्नेछौँ ।’

यस्तै, मुख्यमन्त्री गिरीले राजधानीको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने र प्रदेशमा जनताको आवश्यकता पूरा गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशमा ७२ वटा कानुन बनाएर नेपालमै कानुन बनाउने प्रदेशमा पहिलो प्रदेश रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री गिरीले प्रदेश सरकारले जिम्मेवारीको कामकाज तीव्र गतिमा गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले विभिन्न पदबाट पुरस्कृत गरेर राज्य भएको अनुभूति दिलाएको उहाँले बताउनुभयो । उहाँले सार्वजनिक काममा महत्त्वपूर्ण काम गर्नेलाई राज्यले सम्झने समेत बताउनुभयो । 

प्रदेश स्थापना समारोहमा सभामुख तुलराम घर्ती (वसन्त), लुम्बिनी सरकारका मन्त्री, प्रदेशसभा सदस्यहरू, कर्मचारी, शिविष्टव्यत्तिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा विभिन्न समुदायका संस्कृति झल्कने झाँकीहरू समेत प्रदर्शन गरिएको थियो । प्रतियोगितात्मक झाँकीमध्ये उत्कृष्ट हुने समूहलाई पुरस्कृत गरिएको छ । जसमा घोराही उपमहानगरपालिका दाङको भुम्रा नाच प्रथम, दाङकै राप्ती गाउँपालिका मगर सांस्कृतिक सङ्घको नौमती बाजासहितको नृत्य द्वितीय, राप्ती गाउँपालिकाकै जागृति सांस्कृतिक समूह तृतीय, नव प्रगतिशील युवा क्लब राप्ती गाउँपालिका र शिव युवा क्लब लमहीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।