राजन रावत
हुम्ला, फागुन ३ गते । उमेर नपुगी विवाह गर्ने एक जोडीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा दिने तयारी गरिरहनुभएकी छात्राले विवाह गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले बालविवाहसम्वन्धी मुद्दा अदालतमा दर्ता भएको बताउनुभयो । मुद्दा दर्तासँगै दुई जनाको अदालतबाट म्याद थप समेत भइसकेको छ । उहाँले खार्पुनाथ गाउँपालिका –३ निवासी १७ वर्षीया छात्रालाई सोही गाउँपालिका –४ को छिप्रा निवासी २० वर्षे लक्ष्मण नेपालीले विवाह गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको बताउनुभयो ।
नाम परिवर्तित छात्रा सोही गाउँपालिका –४ कै सीता माध्यमिक विद्यालयमा अध्ययनरत रहेको र यस पटक उहाँले एसइई परीक्षा दिने तयारी गरिरहनु भएको छ । भान्जीले नेपालीसँग विवाह गरेको जानकारी पाएपछि हाल संरक्षक रहँदै आउनुभएका मामाले प्रहरीमा उजुरी दिनुभएको थियो ।
सुरक्षाको कारण मामाको नाम उल्लेख नगरिएको प्रहरीले जनाएको छ । छात्राको जन्मदर्तामा २०६२ कात्तिक २८ गते जन्ममिति रहेको छ । यसअघि यसरी बालविवाह गर्नेबिरुद्ध प्रहरीले चङ्खेली र ताँजाकोट गाउँपालिकाका दुई वटा मुद्दा दर्ता गरेको र सो मुद्दा विचाराधीन रहेका छन् ।
यसअघि जिल्लाभरि बालविवाह भए पनि यसरी मुद्दा दर्ता नभई गाउँमै आफन्त र परिवारका सदस्यहरूले मिलाउने कार्य हुनेगरेको थियो । बालविवाह गर्ने बालबालिकाविरुद्ध मुद्दा दर्ता हुन थालेपछि यसबाट बालविवाहमा न्यूनीकरण आउने विश्वास प्रहरीले लिएको छ ।