• १२ मंसिर २०८१, बुधबार

जोमसोमबाट पोखरा जाँदै गरेको बस लेतेमा दुर्घटना १७ घाइते

blog

बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको बस । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आयार्य

म्याग्दी, फागुन ३ गते । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको  ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ । 

दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक हवल्दार कृष्ण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार  बुधबार बिहान साढे ८ बजेतिर लेतेको धम्पुसस्थित सडकबाट बस ४० मिटर तल खसेर कालिगण्डकी नदीमा पुगेको छ । 

दुर्घटनाको खबर लगत्तै जोसोमबाट प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेल सहित प्रमुख जिल्ला अधिकारी,नेपाली सेना र प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरिएको छ । 

दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भीर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

बाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ । 

निर्माणाधीन भएकाले साँघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा म्याग्दी, पोखरा र भारतीयहरु सवार रहेको प्रहरीको भनाइ छ ।   दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।