• २ माघ २०८१, बुधबार

प्रेममा पागल भ्यान गग

blog

विश्वप्रसिद्ध कलाकार भिन्सेन्ट भ्यान गग प्रेममा देखाएको पागलपनले विश्व परिचित छ । एक पटक उनले प्रेमिकालाई आफूलाई प्रेम गर्ने भए जे पनि गर्न तयार भएको अभिव्यक्ति दिन्छन् । उनले भन्छन्, ‘साँच्चिकै तिमी मलाई प्रेम गछ्र्यौ भने म तिम्रा लागि जे पनि गर्न तयार छु ।’ भ्यान गगले प्रेम गर्ने ती महिला (वेश्या)ले आफूप्रतिको अनुराग देखेर ‘साँच्चि हो ! तिमी मेरा लागि जे पनि गर्न तयार छौ ?’

प्रेममा पागल भ्यान गगले प्रेमिकालाई जे मागे पनि दिन तयार रहेको वचन दिन्छन् । उनले भन्छन्, ‘म तिमीलाई खुसी राख्न जस्तोसुकै काम गर्न सक्छु ।’ प्रेमिकाले उनको मनोभाव बुझ्ने र गिज्याउने गरी भन्छे, ‘त्यसो भए मलाई तिमीले आफ्नो कान काटेर देउ ।’

भ्यान गगले उत्ति नै खेर धारिलो चक्कुले कान काटेर प्लेटमा राखेर प्रेमिकालाई दिन्छन् । उनी भन्छन्, ‘म तिम्रा लागि जे पनि गर्न सक्छु ।’ उनको यो हर्कत देखेर ती महिला त्रसित हुँदै ‘तिमी त साँच्चिकै पागल हौ !’ भनेर त्यहाँबाट भाग्छे । कान काटेपछि उनलाई तत्कालै आरल्समा रहेको अस्पताल भर्ना गरियो । उनी करिब दुई हप्ता अस्पताल बसेर उपचार गरे । उपचारका क्रममा उनले त्यहाँ निकै आकर्षक चित्रहरू बनाए । 

यस्तै एक पटक मालिककी छोरीसँग एकतर्फी प्रेम गरेपछि उनी कामबाट निकालिएका थिए । उनको महिलाप्रति आशक्ति निकै गहिरो थियो । तुरुन्तै एकतर्फी प्रेम गरिहाल्ने !

२७ वर्षको उमेरमा कला सिकेका भ्यान गगले १० वर्षको अवधिमा विश्वप्रसिद्ध सयौँ चित्र बनाए । सन् १८५३ मार्च ३० मा नेदरल्यान्डको जोरट जुन्डर्टको डच गाउँमा पिता थिओडोरस भ्यान गग र आमा कोरनिलियाको कोखबाट जन्मिएका उनी सानैदेखि एकान्तप्रेमी थिए । उनी भाइबहिनीसँग नखेली जङ्गल चहार्ने तथा एकान्तमा बस्दथे । उनका एक भाइ र तीन बहिनी थिए । उनका पिता धार्मिक प्रकृतिका थिए भने आमा कलाप्रति निकै अनुराग राख्ने गर्थिन् । यही कारण भ्यान गग पादरी भए । 

०००  

पोल्यान्ड मुलका डच कलाकार भ्यान गग उत्तरप्रभाववादी कलाकारका रूपमा परिचित छन् । अलि सन्काहा पाराका उनी झगडा गरेर घरबाट निस्केका थिए । उनी एक पैसा नलिई हेग पुगेका थिए । तर उनलाई भाइ थिओले केही पैसा पठाएर सहयोग गरेका थिए । 

कलाकर्ममा भने उनी निकै दत्तचित भएर लागे । उनको समर्पण र कलाप्रतिको गहिरो भावले उनलाई विश्वप्रसिद्ध कलाकारका रूपमा परिचित गराउन सक्यो । 

भ्यान गगले रङको जादुमयी प्रयोगबाट उत्तरप्रभाववादी शैलीमा आफूलाई अभिव्यक्त गरे । उनको रङ र तुलिकाको प्रयोगले उनलाई कलामा फरक र विशिष्ट प्रतिभाका रूपमा स्थापित गर्न सक्यो । भ्यान गगले बनाएका मुख्य चित्रमा द स्ट्यारी नाइट, द बेड रुम एट आरल्स, पोटेटो इटर सनफ्लावर, यल्लो हाउस, कोर्नफिल्ड एन्ड साइप्रासेस, द पोस्टम्यान रोसोलिन, पेरे टेनग्वे आदि रहेका छन् । 

३७ वर्ष (सन् १८९० जुलाई २७) को उमेरमा आफैँले गोली हानी आत्महत्या गरेको भनिए पनि उनको मृत्यु कसरी भयो भन्‍नेबारे सत्यतथ्य बाहिर आउन सकेको छैन । १० वर्षको अवधिमा उनले २१ हजारभन्दा बढी र तैलचित्र मात्रै आठ सय ६० वटाभन्दा बढी चित्र बनाएका थिए ।

जीवनकालभरि उनका कलाकृतिको खासै चर्चा हुन सकेन । यसअवधिमा ‘द रेड भाइन्स्’ शीर्षकको चित्र मात्रै बिक्री भएको थियो । भ्यान गगले जीवनकालमा बनाएका लगभग सबै चित्र भाइ थिओले राखे । जब उनको निधन भयो तब मात्रै उनका कलाकृतिले एकाएक विश्वमै चर्चा कमाए । उनको  सबैभन्दा बढी मनपराइएको चित्र ‘द स्टारी नाइट’ हो ।