• १३ साउन २०८१, आइतबार

पार्टीको केन्द्रीय समिति सदस्य ४० पुग्यो

पुरानो सहमति कायम भए मात्रै रास्वपा सरकारमा जाने

blog

फाइल तस्बिर

काठमाडौं, फागुन १ गते। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन हुँदा बखतको पुरानो सहमति कायम हुनसके सरकारमा जाने बताएको छ। रास्वपाको सोमबार बसेको केन्द्रीय कार्य समितिमा पुनः सहमति हुन सक्यो र जनताको काम गर्ने अवस्था रह्यो भने पछिल्लो अवस्था हेरेर सरकारमा जान सकिने अन्यथा सरकारबाट बाहिरिन पनि सक्ने रास्वपाले जनाएको हो।

बैठकपछि रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘सरकारमा जाने, नजाने यावत कुरा मिडियामा आइरहेका छन्। यसमा धेरै छलफल गरेनौँ। हिजो एउटा सहमति गरेर सरकारमा गएका थियौँ। पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवस्था रह्यो भने पछिल्लो अवस्था हेरेर जान सक्छौँ।” 

विगतको सहमति तोडिएको आभास भएपछि सरकारबाट बाहिरिएको भन्नुहुँदै उहाँले अर्को राजनीतिक घटनाक्रम नभएसम्म सरकारलाई दिएको समर्थन कायम रहने बताउनुभयो।

बैठकमा सभापति रवि लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएको छलफलको ब्रिफिङ गर्नुभएको सन्दर्भ जोड्नुहुँदै उहाँले भन्नुभयो, “हामीले सरकार नछोड्दिए हुन्थ्यो भन्ने छ। हामी सरकारमा बस्दैनौँ, पुरानो सहमति कायम हुनुपर्छ अन्यथा सरकारमा जान्दैनौँ। निर्वाचन भइसकेपछि  रास्वपाले गृह मन्त्रालय पाएको थियो। यो हाम्रो मागभन्दा दाबी कायम हो। गृहमन्त्रीमा सभापति जानुभएको पनि थियो। पूर्ण कार्यान्वयन भयो भने पुनः विचार गर्ने कुरा हुन्छ।”

निर्वाचन आयोगले चितवन– २ मा वैशाख १० गते उपनिर्वाचन तोकेको विषयमा रास्वपाले यसका लागि पार्टी तयार रहेको भन्दै स्वागत गरेको छ। आजको बैठकले केन्द्रीय समितिको सदस्य २४ बाट ४० जनामा विस्तार गरेको बुर्लाकोटीले बताउनुभयो। 

रास्वपाले विभिन्न केन्द्रीय विभागको जिम्मेवारी तोकेको र प्रस्तावित सल्लाहकारसँग कार्यशाला गरेर मात्रै सल्लाहकार मनोनयन गर्ने जनाएको छ।