राममणि दाहाल
हेटौँडा, फागुन १ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रका अटोभिलेज निर्माण गर्न चर्चा सुरु भएको अढाई दशकभन्दा लामो समयपछि एकीकृत अटोभिलेज निर्माण हुने भएको छ।
हेटौँडा बजार क्षेत्रभित्र छरिएर रहेको सवारी मर्मत केन्द्र (ग्यारेज)हरूका कारण प्रदूषण बढेको र नगरको सौन्दर्य बिग्रँदै गएको भन्दै हेटौँडा उपमहानगरपालिका र अटो मेकानिक्स एन्ड इन्जिनियरिङ एसोसिएसन मकवानपुरले २०५३ सालदेखि एकीकृत सवारी मर्मत स्थापनाका लागि पहल गर्दै आएको थियो।
अटोभिलेजका लागि हेटौँडा उपमहानगरपालिका–११ स्थित राप्ती नदी उकास जग्गाको पहिचान र निक्र्योल भएसँग हेटौँडा बजार क्षेत्रमा छरिएर रहेका सवारी मर्मत केन्द्रलाई एकै ठाउँमा स्थानान्तरणको तयारी थालिएको हो।
हेटौँडा–११ मा राप्ती नदी उकास करिब ३१ बिघा जग्गाको संरक्षणका लागि बागमती प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७९/८० को पाँच करोड रुपियाँ बजेटमा तटबन्ध निर्माणको काम भइरहेको छ।
बजार क्षेत्रमा हाल सञ्चालनमा रहेका सवारी मर्मत केन्द्र (वर्कसप) सञ्चालन गरिने अटोभिलेजको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले शिलान्यास गर्नुभएको छ।
अटो मेकानिक्स एन्ड इन्जिनियरिङ एसोसिएसन मकवानपुरका अध्यक्ष आनन्दराम पौडेलले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत भइरहेको प्रस्तावित अटोभिलेज क्षेत्रमा करिब एक किलोमिटर तटबन्ध निर्माण गर्नुपर्नेमा करिब ६० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो।
अटोभिलेजका लागि चालू आवमा उपमहानगरपालिकाले विनियोजन गरेको २५ लाख रुपियाँमध्ये १४ लाख रुपियाँको लागतमा पहिलो चरणमा जग्गा सम्याउनेलगायतका काम सुरु गरिएको छ।
उपमहानगरका प्रमुख लामाले अटोभिलेज सञ्चालनका लागि उपमहानगरले एसोसिएसन र व्यवसायीसँग सहयोग र समन्वय गर्ने बताउँदै अटोभिलेजमा संरचना निर्माण गर्न व्यवसायीलाई भाडामा उपलब्ध गराउने बताउनुभयो।
एसोसिएसनका अध्यक्ष पौडेलले अटोभिलेजमा चार्जिङ स्टेसन, तीन पाङ्ग्रे र सोभन्दा माथिका सवारीसाधन र उपकरणको मर्मत केन्द्र, स्वास्थ्य चौकी, खाजा, खाना घर, शौचालयलगायतका संरचना निर्माण गरिने बताउनुभयो।
उहाँले एसोसिएसनको कार्यालय भवनबाहेकका संरचना उपमहानगरपालिकासँगको लागत सहभागितामा निर्माण हुने भन्दै अटोभिलेजमा व्यवसायीलाई टहरा निर्माणका लागि उपमहानगरपालिकाले पत्र दिइसकेको र सम्झौता हुन बाँकी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “जग्गा सम्याउने काम सकिएपछि, सडक, ढल, टहरा निर्माणलगायतका काम हुने छन्, नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन अटोभिलेज क्षेत्रमा विस्तार गरेमा आगामी जेठ महिनाभित्रै केही सवारी मर्मत केन्द्र बजारबाट स्थानान्तरणको योजनामा छौँ।”
प्रस्तावित अटोभिलेज क्षेत्रमा २५० वटा ठूला सवारी मर्मतका वर्कसप निर्माण गर्न सकिने र हाल हेटौँडा बजार क्षेत्रका करिब १५० वटाको सङ्ख्यामा वर्कसप सञ्चालनमा रहेका छन्।
अटोभिलेजमा सवारी साधनको मर्मतसँगै अटो पार्टस्का पसल, सोरुमलगायतका पूर्वाधार निर्माण हुने बताउँदै बजारमा छरिएर रहेका वर्कसप स्थानान्तरणपछि बजार क्षेत्रमा ट्राफिक जाम, प्रदूषणलगायतका समस्या केही भए पनि समाधान हुनेछ भन्नुभयो।
प्रस्तावित अटोभिलेजमा बागमती प्रदेश सरकारले बनाएको विस्तृत परियोजना प्रस्तावअनुसारको स्थायी संरचना नबन्ने भएको छ।
अटोभिलेजभित्र विस्तृत परियोजना प्रस्ताव (डीपीआर) अनुसार सडक, ढल, विद्युतीकरणका काम भए पनि स्थायी संरचना नबनाएर अस्थायी टहराको भरमा काम चलाइने भएको छ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बनाएको डीपीआर अव्यावहारिक भएको भन्दै उक्त डीपीआरअनुसारका स्थायी संरचना अटोभिलेजभित्र नबन्ने भएको हो।
एसोसिएसनका अध्यक्ष पौडेलले भन्नुभयो, डीपीआर बनाउँदा पटक/पटक भएको छलफलमा हामी पनि प्रत्यक्ष सहभागी थियाँै, सबै संरचना बनाउन २१ करोड रुपियाँ लाग्ने र निर्माण पूरा हुन वर्षौं लाग्ने भएकाले उक्त डीपीआर अव्यावहारिक देखियो। बजार क्षेत्रमा भएका वर्कसपलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएकाले थोरै खर्चमा अस्थायी संरचनाबाटै काम चलाउन डीपीआरअनुसार अब स्थायी संरचना नबन्ने भए।
यसअघि प्रदेशको वन तथा वातावरण मन्त्रालयले सुविधा सम्पन्न र अत्याधुनिक अटोभिलेज निर्माणको प्रस्तावसहित डीपीआर बनाएको थियो। मन्त्रालयले एक अर्ब रुपियाँको लागतमा निर्माण गर्ने गरी बनाएको डीपीआरअनुसारका संरचना अहिले नेपालका लागि आवश्यक नभएको, धान्न नसक्ने निर्माण गर्न समय लाग्ने एसोसिएसनले बताएपछि तत्कालीन मुख्यमन्त्री डोरमणिले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई अर्को डीपीआर बनाउन लगाउनुभएको हो।
यसअघि २०६२ असोजमा साबिकको चुरियामाई गाविसले अटोभिलेजका २० बिघा जग्गा उपलब्ध गराउन सहमतिसहित सिफारिस गरे पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्णयसहित माथिल्लो निकायमा सिफारिस नगर्दा जग्गा उपलब्ध हुन सकेको थिएन।