ताराबहादुर बुढाथोकी
भारतका प्रसिद्ध लेखक रण काफ्लेजीलाई धरानमा चिनेको थिएँ । कसै–कसैसँगको चिनजान त कति परसम्म टिक्ने सम्बन्धमा रूपान्तर हुँदो रहेछ । यिनै मुर्धन्य लेखक रण काप्mलेले लेखेको एउटा हार्ड कभरसहितको पुस्तक काठमाडौंको सिंहदरबारनजिक हात लाग्यो । “साहित्यकार बुढाथेकीलाई सादर भेट” लेखिएको छ, खाली पानामा ।
सिलिगुडीका कलाकार सुरज मोक्तानको अमूर्त चित्रकलामा एक पुरुष र एक महिलाजस्तो देखिने आवरण चित्र हल्का पानी रङको छ । अलिकति हिमाल, अलिकति पहाड, थोरै मैदान र नजिकै शायद इन्द्रावती नदी । इजा प्रकाशनको व्यानरमा २०५ पृष्ठ भए पनि कथानकले १८४ पृष्ठ ग्रहण गरेको छ । उपन्यासमा अक्षरको रोपाइँ २९ जुन २०२३ को दैनिकीबाट आरम्भ हुन्छ १६ जुलाई २०२३ को दैनिकीमा पुगरे मैझारो हुन्छ । कथानक मान्छेको एउटा जिन्दगीको आयामसम्म तन्केको छ ।
काठमाडौंको मुटुमा थिएँ, सिंहदरबार भित्र । विक्रमसम्वत् २०८१ असार २४ गते ३ बजेको हुनुपर्छ । एक जना परिचित तर पहिले नदेखेकी महिलाको फोन आउँछ । फोनबाटै लोकेसन सोध्दै भेट्न पुगें म । होचो कद, मोटो शरीर, गहिरो अनुहार, अलौकिक मुस्कानका साथ घिउ रङको सारीमा अत्यन्त सरल महिला देखें । हत्त न पत्त नमस्ते गरें । एक जना सज्जन मानिस पनि साथमा रहेछन् । नेपाली साहित्यका एउटा साधक मनिराज सिंह । दुवैले नमस्कार गर्नुभयो, मैले पनि झुकेर अभिवादन गरी परिचय मागें । उहाँले मसिनो आवाजमा भन्नुभयो, “मेरो नाम चिनीमाया माझी ।”
मृदुभाषी, अल्पभाषी र असल तिनै नारीले रण काप्mलेकृत “मत्श्यकन्याको मुलुकमा” कृति दिनुभयो । लेखकले टेलिफोनमा कृति उनै महिलाको जीवन कथामा आधारित भएको बताएका थिए । अर्थात मेरो अघिल्तिर हुनुहुन्छ, साक्षात् मत्श्यकन्या । उहाँ जन्मेको मुलुक नेपाल नै मत्श्यकन्याको मुलुक । असाम निवासी लेखक रण काप्mलेको नोपालमा घुम्दाफिर्दाको चोखो अनुभुतिहरुकै सेरोफेरोमा उपन्यासको कथानक घुमेको हुनुपर्छ भन्ने लख काट्न मलाई गाह्रो भएन । चिचिलाको मत्श्यपोखरीमा जन्मेको मत्श्यकुमार पो त म पनि । यसरी मत्श्यकुमार र इन्द्रावती किनारमा जन्मेकी मत्श्यकन्याको भेट भयो । कृति मेरो हात लाग्यो ।
रमेश विकलको अविरल बग्ने इन्द्रावती अझ पनि बगिरहेकै छ । नेपालको इन्द्रावती सुनकोसी नदीको सहायक नदी हो । १९ औं शताव्दीमा यसैलाई मेलम्ची वा मेलम्चु भनिन्थ्यो । मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती सङ्लो गरी बग्छ । सिन्धुपाल्चोक जिल्लाको भोटङ गाउँमाथिको पाँच पोखरीमा यसको मुहान छ । अहिले यसै नदीको नामबाट गाउँपालिकाको नाम पनि रहेको छ । भगवान इन्द्रको मनोरम स्थलका रूपमा इन्द्रावती रहेको मानिन्छ । तराईको हावापानीसँग मिल्दोजुल्दो छ, नदी किनारको भिमटार फाँटदेखि सिम्पल काभ्रेसम्म । यसको वैविध्ययुक्त प्रकृति र संस्कृतिलाई उपन्यासको केन्द्रीय परिवेश बनाएको पाइन्छ ।
पुराणकथाअनुसार माझीले जालमा पारेको माछोको पेटबाट अत्यन्त सुन्दर कन्या प्रकट हुन्छिन् । तिनै हुनुहुन्छ मत्श्यकन्या । शीर्षकमा मिथकीय सम्मिश्रण छ । चार वेद लेख्ने वेदव्यास माझीपुत्र हुनुहुन्थ्यो । पुराणमा उहाँले मत्श्यगन्धाको कथा लेख्नुभएको छ । महाभारत उहाँले लेख्नुभयो र सूर्यको छोरा कर्णलाई प्रारब्धले माझीको धर्मपुत्र बनाएको कुरा लेख्नुभयो । माछा, माझी र नदीको सम्बन्धबाट अनेक भाषामा अनेक कृतिहरू जन्मेका छन्, फुलेका छन् र मग्मगाएका छन् । माझी मानव सभ्यताको वैदिककालदेखि प्रसिद्ध जाति । केही समय यता नेपालमा भने नदीका किनारमा परम्परागत पेसामा आबद्ध छन् । कोशी किनारका माझीहरू अझै माछालाई जाल हानेर समात्छन् । नदीमा नाउ खियाएर मानिसहरु वारिपारि तार्छन् । मर्चा बनाउँछन् ।
मत्श्यपालन व्यवसायको विकास र पुलहरूको निर्माणसँगै परम्परागत पेसा धरापमा छ । आप्mनै भाषा, कला, शैली र संस्कृति भएको माझी जाति आदिवासी जनजाति हुन् । पछाडि पारिएको अति सीमान्तकृत समुदायको रूपमा परिचित छन् । २०६८ को जनगणना अनुसार नेपालभित्र माझीको जनसङ्ख्या १ लाख ११ हजार ३५२ अर्थात् ०.३८ प्रतिशत छ । संसारीपूजा, वायुपूजा आइतबारे पूजा गर्ने माझी जातिको मुख्यपर्व चाहिँ कोसी अर्थात् लदि पूजा हो । माझी जातिको आफ्नै भाषा पनि छ, भाषा प्रयोगकर्ता ३२ हजार ९१७ जना छन् । उपन्यासकार काप्mलेको कृतिले माझी समुदायको पहिचानलाई विस्तार गरेको छ । माझी नारीलाई एक बित्तामाथि उचालेको छ ।
लेखकले घुमेका र चुमेका नेपाली भूमि पूर्व इलामा, काँकडभिट्टा, धरानदेखि सिन्धुपाल्चोकसम्मको बेलिविस्तार छ । यात्राका क्रममा बाटामा भेटिएका, बासमा भेटिएका नेपाली जनमनको आत्मीय प्रस्तुति छ । चाहे इलामको चियाबारी वा धरानको श्रमपार्क । सरल शैली, पात्रानुकुल सम्वाद, कौतुहलताको सन्निवेशले उपन्यास पठनीय बनेको छ । कतै समाख्याता बनेर, कतै पूर्व दीप्तीको प्रयोग गरेर त कतै तृतीय पुरुष प्रधान दृष्टिविन्दूको प्रयोग गरेर शैलीमा विविधता दिएको पाइन्छ । विभिन्न उपशीर्षक लेखेर दिनाङ्क पनि राखिनुले लेखकको नियात्रालाई दैनिकी शैलीमा लेखिएको उपन्यास भन्न सकिन्छ । अधिकांश विषयवस्तुलाई सम्वादको माध्यमबाट प्रस्तुत गरी सम्वादात्मक शैलीको पनि सीपयुक्त तरिकाले उपयोग गरेको पाइन्छ ।
विम्ब र प्रतीकहरूको प्रयोगका साथै असाममा बोलिने नेपाली भाषिकाको प्रभाव अनुभुति गर्न सकिन्छ । माझीको भाषा हुन्छ, यद्यपि उपन्यासले सशक्त आञ्चलिक प्रभाव छोड्न सकेको छैन । नायिकाको नामबाट कृतिको न्वारन गरेको हुनाले नायिकालाई गोलो पात्रको रूपमा चित्रित गरिनुपथ्र्यो । माझी समुदायको जीवनलाई आलोकित बनाउने आयामहरू समेटेको भए पहिचानको सन्दर्भमा कृति अझ सशक्त हुन्थ्यो ।
कोशी टप्पुमा बितेका चिनीमायाका बाल्यकाल, प्रारम्भिक शिक्षा, उहापोह, दुःखकष्ट, आँसुहाँसोको चित्रमय जीवनकथाले जसकसैलाई आकर्षित गर्छ । जीवनका पृष्ठभूमिमा रहेका विकृति, विसङ्गति, रुढीवाद, अन्धविश्वास, अन्याय, शोषण र उत्पीडनको यथार्थ प्रस्तुति छ । विवाह, दाम्पत्य जीवन, नवीन परिवेशमा समायोजनका क्षणहरु पनि कम सङ्घर्षपूर्ण छैनन् । भोल्तेयरले भनेका छन् –सङ्घर्षको सुख नै श्रेष्ठ सुख हो । नभन्दै चिनीमायाका सङ्घर्षहरू सफलताभिमुख छन् । अतीत कारुणिक भए पनि वर्तमानमा सिङ्गो माझी समुदायको नेतृत्व गर्दै सर्वजन हिताय , सर्वजन सुखायमा तल्लीन चिनीमाया यस उपन्यासकी नायिका हुन् ।
नारीप्रधान यो उपन्यासलाई एउटा सुखान्त सामाजिक उपन्यास मान्न सकिन्छ । अति सीमान्तकृत समुदायबाट सङ्घर्षको बाटो हुँदै समाज आर्थिक रूपान्तरणमा योगदान दिने कमलझैं फुलेकी चिनीमायाको उपमाबाट कथानकलाई नियाल्दा आदर्शोन्मुख यथार्थवादी उपन्यासजस्तो लाग्छ । समाजमा व्याप्त विकृति र शोषणप्रति घृणाभाव र नायकप्रति सहानुभूतिको भाव व्यक्त गरिनुले उपन्यास समाजवादी यथार्थवादी पाइन्छ । पछाडि पारिएको अति सीमान्तकृत माझी समुदायको पनि नारी पात्रलाई सफल नायकका रूपमा उभ्याउने यो उपन्यास अस्त्विवादी–प्रगतिवादी उपन्यास पनि हो ।
नेपाली भूमि छाडेर पुर्खाको पालादेखि पुस्तैनी भारतमा बस्दैआएका भारतीय गोर्खा रण काप्mले रैथाने नेपाली हुनुहुन्छ । लीलबहादुर क्षेत्रीको बसाइ उपन्यासको झल्को मेटाउने रैथाने उपन्यास लेखिसकेका काप्mले भारतवासी नेपाली भएर पनि नेपाल र नेपाल प्रतिको उहाँको अगाध प्रेमको प्रतीक हो यो कृति । यात्राका सबैजसो प्रसङ्गमा नेपालको माया व्यक्त छ । नेपाललाई उहाँले “मत्श्यकन्याको मुलुक”भनेर पवित्र नाम दिनुभएको छ । यस नामले नेपाल धार्मिक दृष्टिले नितान्त महत्त्वपूर्ण छ भन्ने परिभाषित गर्छ । भारतका अनेकन विशष्टि नारी प्रतिभालाई छाडेर नेपालकी चिनीमाया माझीको जीवनकथामा यति महान सिर्जना दिनुले साँचो जाति प्रेम र भाषाप्रेम देखाउँछ । चिनीमाया आफैमा मत्श्यकन्या हुनुहुन्छ । जो मानव कल्याणको क्रममा निरन्तर इन्द्रावतीसँगै प्रवाहित हुनुहुन्छ । नियात्राका रूपमा प्रस्तुत “मत्श्यकन्याको मुलुकमा” कृति दैनिकी शैलीमा लेखिएको एउटा सामाजिक उपन्यास पनि हो ।