चितवन समाचारदाता
चितवन, वैशाख २८ गते । भरतपुर विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको निर्माण रोकिएको छ । भवनको छानोको डिजाइन परिवर्तन गरिएपछि चार महिनादेखि निर्माण कार्य रोकिएको हो । आधुनिक सुविधासम्पन्न हुने भवनमा सुरुको डिजाइनको छाना परिवर्तन भएर नयाँ बनाइएको निर्माण गर्दै गरेको क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालिका इन्जिनियर सुनील साहले जानकारी दिनुभयो । “सुरुको डिजाइनको छानोलाई परिवर्तन गरिएको छ,” उहाँले भन्नुभयो, “नयाँ डिजाइन अनुसारको छानोको जस्तापाता आएको छैन, त्यसैले निर्माणको काम अघि बढ्न नपाएको हो ।”
भरतपुर विमानस्थलमा निर्माण हुँदै गरेको भवनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जस्तै छानोको डिजाइन रहेको छ । बाहिरबाट सामग्री आउनुपर्ने भएकाले सामान नआएसम्म निर्माण कार्य रोकिएको इन्जिनियर साहले भन्नुभयो ।
२०८० वैशाख ७ बाट निर्माण सुरु गरेको नयाँ भवनको काम ५० प्रतिशत सकिएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको भवनको लागत एक अर्ब ९० करोड रुपियाँ रहेको छ । अहिले सञ्चालन भइराखेको भवन पुरानो भएपछि धावनमार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माण गर्न थालनी गरिएको हो । भवन निर्माणको सुरु भएपछि धावनमार्ग विस्तारको कार्य भने अगाडि बढ्न सकेको छैन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नयाँ टर्मिनल भवन निर्माण कार्यले गति लिए पनि धावनमार्ग विस्तार गर्न केही जटिलता आएको बताउनुभयो । उत्तरतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी धावनमार्ग निर्माण गरिने तयारी रहेको छ । सेनाको घोडा प्रजनन केन्द्र अन्यत्र भवन निर्माण गरी तयारी अवस्थामा भएपछि मात्र सेनाले छाड्ने बताउँदै आएको छ ।
निर्माणाधीन भवनमा एकै पटक एक हजार जना यात्रुले आवतजावत गर्न सक्ने क्षमता हुने इन्जिनियर साहले बताउनुभयो । सुविधायुक्त भवनमा पार्क निर्माण, मनोरञ्जन पार्क, रेस्टुरेन्ट, विदेशी पर्यटकलाई केन्द्रित गरी बजारको व्यवस्था हुने छ । भवन स्थलमा दुई सय कार, चार सय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी निर्माण हुने छ । अग्नि नियन्त्रण केन्द्र, नियन्त्रण कक्ष, आवासलगायतको सुविधा हुने इन्जिनियर साहले जानकारी दिनुभयो ।
तराईका अधिकांश विमानस्थलमा एटिआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन । एटिआर ४२ र ट्विनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन् । भरतपुर विमानस्थल विसं २०१५ मा निर्माण सम्पन्न भई पहिलो उडान विसं २०१८ मा भएको तथ्याङ्क छ । विसं २०५१ मा एक हजार १५८ मिटरको धावनमार्ग बनाइएको थियो । विमानस्थलको विसं २०५५ मा एसियाली विकास बैङ्कको सहयोगमा कालोपत्रे सम्पन्न भएको नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ । देशको मध्यभागमा पर्ने भएकाले विसं २०४५ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुन सक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । विमानस्थल ५८ बिघामा फैलिएको छ । विसं २०१५ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यव्रmम अन्तर्गत यो विमानस्थल निर्माण गरिएको हो । अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ । विस्तारसँगै रात्रिकालीन उडानसमेत गरिने तयारीमा रहेको छ ।
विमानस्थल निर्माण भएपछि वरिपरि बस्ती बसेको थियो । धावनमार्गनजिकै अग्ला भवन निर्माण हुँदा ठुला विमान यहाँ अवतरण गर्न सकेको छैन । अहिले भइराखेको धावनमार्गमा ७२ सिट क्षमताको विमान अवतरण गर्न नसक्ने भरतपुर विमानस्थल कार्यालय प्रमुख दीपक विकले बताउनुभयो । धावनमार्ग विस्तार गरेर कम्तीमा एक हजार पाँच सय लम्बाइ पुर्याउन सकेमा ७२ सिट क्षमता भएका विमान सजिलै अवतरण गर्न सक्ने उहाँले बताउनुभयो । अहिले भरतपुर काठमाडौँको भाडा पाँच हजार रुपियाँ रहेको छ । ठुला जहाज आएमा भाडा घट्ने भएकाले यात्रुले राहत पाउने उहाँले बताउनुभयो । ठुला जहाज अवतरण गर्न थालेपछि रात्रिकालीन उडानसमेत हुने
प्रमुख विकले जानकारी दिनुभयो ।