• १३ साउन २०८१, आइतबार

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने

blog

काठमाडौँ, फागुन १ गते । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्ने भएको छ । विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गरिनेछ । 

सरकार र नेपाल चिकित्सक सङ्घबीच आइतबार भएको सहमतिअनुसार सो कार्यविधि परिमार्जन गर्न लागिएको हो । सहमतिको बुँदा नम्बर ४ मा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने उल्लेख छ । कार्यविधि परिमार्जनका लागि एक साताभित्र सुझाव पेस गरिने तथा प्राप्त सुझावलाई तत्काल कार्यान्वयनमा लैजानेसमेत सहमति भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठी प्रहारको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रेपछि सरकार र सङ्घबीच उक्त सहमति भएको हो । 

लाठी प्रहार घटनाका सम्बन्धमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले नै गर्ने सहमतिमा उल्लेख गरिएको छ ।

त्यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिई चिकित्सक आआफ्नो काम र जिम्मेवारीमा फर्किनुभएको छ । वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र नेपाल चिकित्सक सङ्घका तर्फबाट सङ्घका अध्यक्ष डा. लोचन कार्की सहभागी हुनुहुन्थ्यो ।