• १३ साउन २०८१, आइतबार

पार्टीमा व्यापक रूपान्तरण गर्छौं : माओवादी अध्यक्ष प्रचण्ड

blog

पेरिसडाँडामा बागमती प्रदेश समन्वय समितिको दोस्राे बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, माघ २९ गते। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताउनुभएको छ।

आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको स्थायी समिति बैठकले दुई महिना सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानु छ। दुई महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।दुईमहिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुन्छ।त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौं।”

सरकारको नेतृत्व चुनौतीपूर्ण अवसर रहेको भन्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेको बताउनुभएको छ।

“हामीले सरकारको नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो”, प्रधानमन्त्रीले भन्नुभयो, “यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ। सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईंहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला।”

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको बताउनुभयो।उहाँले सरकारलाई विश्वासको मत दिने पार्टीको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

“विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ। विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारलाई विश्वासको मत दिने पार्टीको भावना पनि हामीले सम्बोधन गर्नुपर्छ।हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु।’’