• १३ साउन २०८१, आइतबार

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

अनेरास्ववियुको २३ औं महाधिवेशनमा १५ सय ७३ प्रतिनिधि सहभागी हुने

blog

अनेरास्ववियुले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलन । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, माघ २९ गते। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका  छन्।

अनेरास्ववियुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत फागुन २ देखि ४ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा महाधिवेशन हुने गरी सबै तयारी पूरा भएको जानकारी गराएको हो। 

यसका लागि सङ्गठनका अध्यक्ष सुनीता बरालको अध्यक्षामा रहेको मुल व्यवस्थापन समिति र विभिन्न उपसमितिमार्फत तयारीको काम अघि बढेको जनाइएको छ। 

महाधिवेशनमा देशभरका ७७ जिल्लाका मावि कमिटी, पालिका कमिटी र जिल्ला कमिटीको प्रतिनिधित्व हुने गरी जिल्ला तहका सम्पूर्ण कमिटी, आठ वटा विश्वविद्यालय राष्ट्रिय कमिटी, सीटीईभीटी राष्ट्रिय कमिटी र क्लब गरेर ११ वटा विश्वविद्यालयको प्रतिनिधित्व हुने जनाइएको छ।

यसैगरी, स्ववियु निर्वाचन हुने ४४१ वटा क्याम्पस कमिटी, विशेष प्रदेशसहित आठ वटा प्रदेश कमिटी, सात वटा भौगोलिक प्रदेश सम्पर्क कमिटी, छ वटा केन्द्रीय सम्पर्क कमिटी र केन्द्रीय कमिटीमा रहेका सम्पूर्ण सदस्य रहेको आयोजक कमिटीसहित विभिन्न कमिटीको प्रतिनिधित्व हुने गरी समावेशी र समानुपातिक हिसाबले सबै प्रतिनिधिको छनोट सर्वसम्मतिले भएको छ। 

अनेरास्ववियुको नीति तथा विधान सन्दर्भमा असोज १ र २ गते काठमाडौंमा देशभरका ८६० प्रतिनिधिको उपस्थितिमा विधान महाधिवेशन चलेको थियो। 

महाधिवेशनलबाट आगामी एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित हुनेछन्। करिब सात वर्षपछि अनेरास्ववियुको महाधिवेशन सम्पन्न हुन गइरहेको हो।