• २५ पुस २०८१, बिहिबार

बाँके–सल्यान सडक: चुनावी नारा मात्र बनिरहेकोमा आपत्ति

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, माघ २९ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सबै उम्मेदवारले चुनावी मुद्दा बनाएको नेपालगञ्ज–सल्यान पर्यटकीय सडक निर्माण सुरु गर्न स्थानीयवासीले दबाब दिन थालेका छन्। 

बाँकेको चप्परगौँडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय सडकको निर्माणलाई निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए। यो सडकको निर्माण २०१५ सालबाट नै केही उम्मेदवारको चुनावी नारा बन्दै आएको छ। 

यस पटक पनि सबै राजनीतिक दलले यो सडक निर्माणको एजेन्डालाई प्राथमिकतामा पारेर चुनावी मुद्दा बनाएका हुन्। कोहलपुरलाई आर्थिक तथा सामाजिक रूपले सबल बनाउन कोहलपुर–चप्परगौँडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी भएको कोहलपुर नगरपालिका–१३ का स्थानीय अगुवा लालबहादुर रानाले बताउनुभयो। 

उहाँले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी सूर्य ढकाल र प्रदेश सभामा विजयी दुर्गा चौधरीलाई सो सडक निर्माणको माग गर्नुभयो। विजयी उम्मेदवारले निर्माणको पहल गर्नुपर्छ, चुनावमा उहाँहरूको एजेन्डा पनि यही सडक थियो। 

जनप्रतिनिधि ढकाल र चौधरीले पनि सो सडक निर्माणलाई आफ्नो चुनावी एजेन्डा बनाएकाले अब पहल गर्नुपर्ने स्थानीयको माग छ। कोहलपुरका अर्का स्थानीय नीरज थापाले चुनावका बेला गरेको प्रतिबद्धताअनुसार अब काम गरेर देखाउनुपर्ने जनाउँदै सो सडक निर्माणको पहल सुरु गर्नुपर्ने बताउनुभयो। 

सांसद ढकालले यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोसेढुङ्गा साबित हुने भएकाले अझै पनि यसको निर्माण प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो। 

उहाँले यो सडक निर्माण यस क्षेत्रको आर्थिक विकाससँग सोझै जोडिएकाले आफूले यसका लागि पहल थालिसकेको बताउनुभयो। प्रदेश सभाका सांसद चौधरीले पनि कोहलपुर–चप्परगौँडी–खड्कवार–घुइँयाबारी हुँदै बाँकेलाई सल्यानसँग जोड्ने सो पर्यटकीय मार्ग निर्माणका लागि सङ्घीय सांसदसँग समन्वय भइरहेको बताउनुभयो। 

सल्यान, सुर्खेत, प्युठान र रोल्पासम्म पुग्न छोटो तथा कम खर्चमा यात्रा गर्न सकिने सो सडक सञ्चालन गर्न सके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यानलगायतका स्थानमा सहजै पु-याउन सकिनेछ। चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको छ।