• १२ मंसिर २०८१, बुधबार

राजेन्द्र र पार्वतीलाई स्वर्ण

blog

सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको टिम च्याम्पियन विद्युत प्राधिकरण टोली । तस्बिर : राखेप

काठमाडौं, माघ २८ गते । नेपाल टेलिकमका राजेन्द्रसिंह कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राईले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जित्नुभएको छ । 

सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा राजेन्द्रले नेपाल विद्युत प्राधिकरणका श्यामसुन्दर महर्जनलाई २१–१८, १–१४ को सोझो सेटमा पराजित गर्नुभयो । महिला सिंगल्समा पार्वती राईले टेलिकमकी श्रद्धा मानन्धरलाई २१–१४, २१–७ ले हराउनुभयो । 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा विद्युतका खगेन्द्र शाही र राजु महर्जन, महिला डबल्समा विद्युतका सविना तामाङ र अम्बिा सापकोटा, भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन तथा एक्जिक्युटिभ पुरुष डबल्समा नेपाल टेलिकमका सुरेन्द्रसिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले स्वर्ण जित्नुभयो । पेस्डान एक्सिक्युटिभ पुरुष डबल्समा तेजनाथ ढकाल र प्रशान्तबहादुर श्रेष्ठको जोडी पहिलो हुनुभयो । 

प्रतियोगितामा विद्युत तीन स्वर्ण, दुई रजत र चार कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । दुई स्वर्ण, तीन रजत र एक कांस्यसाथ टेलिकम दोस्रो भयो । नागरिक उड्डयन प्राधिकरण एक स्वर्ण र एक कांस्यसहित तेस्रो भयो । भृकुटीमण्डपमा भएको फुटसलको उपाधि नागरिक उड्डयन प्राधिकरण ‘ए’ जित्यो ।