• १२ मंसिर २०८१, बुधबार

राजनलाई प्रधानसेनापति म्याराथन उपाधि

blog

उपाधि विजेता खेलाडीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ २८ गते । आठौँ प्रधानसेनापति खुला म्याराथन उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जित्नुभएको छ । शनिबार भएको म्याराथनमा पुरुषतर्फ राजनले निर्धारित दुरी दुई घण्टा ३० मिनेट आठ सेकेन्डमा पूरा गर्नुभयो । 

आर्मीकै खड्कबहादुर खड्का दोस्रो र कृष्णबहादुर बस्नेत तेस्रो हुनुभयो । उपाधिसँगै राजनले तीन लाख, उपविजेता खड्कले दुई लाख र तेस्रो हुनुभएका कृष्णले एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । 

यसैगरी हाफ म्याराथनको उपाधि पुरुषतर्फ आर्मीकै दीपक अधिकारी र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जित्नुभएको छ । दीपकले निर्धारित दुरी एक घण्टा चार मिनेट ६ सेकेन्ड र राजपुराले एक घण्टा १४ मिनेट ३४ सेकेन्डमा पूरा गर्नुभयो । पुरुषतर्फ मुकेश पाल दोस्रो र बागलुङका तीर्थ पन तेस्रो हुनुभयो । हाफ म्याराथनका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

यस्तै सैनिक अधिकृततर्फ १० किलो मिटर दौडमा महिलातर्फ अस्मिता जिसी र पुरुषतर्फ सुरज ऐडी पहिलो हुनुभयो । १० किमी छात्रामा राष्ट्रिय सेवा दलकी सोनु घतानी र छात्रमा पिनाकल एकेडेमीका विकेश घिमिरे पहिलो हुनुभयो ।  

सेना दिवसका अवसरमा आयोजित म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर, पेप्सीकोला,  गौशाला, चाबहिल, महाराजगन्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन भएको थियो । प्रतियोगितामा सात सय ५० धावकको सहभागिता रहेको थियो ।