• १२ मंसिर २०८१, बुधबार

आँधीखोलामा अठतीस लाखको प्रवेशद्वार

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, माघ २८ गते । आँधीखोला गाउँपालिकाले वडा नं ५ सेतीदोभानमा पालिका प्रवेशद्वार बनाएको छ । पुतलीबजार नगरपालिका–४, नागडाँडाबाट पालिका प्रवेश गर्ने ठाउँमा प्रवेशद्वार बनाइएको हो । गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को बजेटबाट विनियोजित ३५ लाख २० हजार र गाउँपालिकाको दुई लाख ८० हजार गरी ३८ लाख रुपियाँमा पालिकाले अन्धाअन्धी पर्यटन समितिमार्फत प्रवेशद्वार बनाएको हो । 

जमिनमुनि साढे १० फिट बिमसहितको ११ मिटर उचाइ र आठ मिटर चौडाइको पिल्लर बनाएर गेट बनाइएको इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो । दुवैतर्फ १८ इन्चको पिल्लरलाई बाहिरबाट कँुदेका ढुङ्गाले गाह्रो लगाएर गेट निर्माण गरिएको छ । गेटमा स्टिलनेस स्टिलको थ्रीडी लेटरले आँधीखोला प्रवेश लेखिएको छ । गेटमा जोडिएको बिजुली बत्तीले रातको समयमा झिलिमिली देखिन्छ । 

प्रवेशद्वारका दुई पिल्लरको बाहिर गाउँपालिकालाई परिचित गराउने पर्यटकीयलगायत स्थानका तस्बिर सिसामा राखिएको छ । गेटका दुवैतर्फ अन्धाअन्धी दह, श्रवणकुमार समाधि स्थल, सिरुबारी, निशानछाप, पालिकाको लोगो र श्रवणकुमारको हुलाक टिकटको तस्बिर राखिएको छ । पालिकाका बारेमा जानकारी र सुरुवातको बारेमा पर्यटक, सडक यात्रुलाई पहिचान गराउने उद्देश्यले प्रवेशद्वार बनाइएको पालिकाका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । पालिका प्रवेश गरेसँगै सबै जानकारी गेटले दिने बताउँदै पौडेलले अब केही समयमै गेटमा सीसी क्यामरासमेत जडान गरिने बताउनुभयो । उहाँले जिल्लाका सबै पालिकाले प्रवेशद्वार बनाएको बताउँदै पौडेलले आफूहरूले बनाएको प्रवेशद्वार फरक, आकर्षक र उद्देश्यसहित रहेको बताउनुभयो । 

गेटका दुवैतर्फ दूबो लगाएर ढुङ्गाले चिनेर २० मिटर लम्बाइ र आठ मिटर चौडा बस्ने ठाउँसमेत बनाइएको छ ।