• ४ पुस २०८१, बिहिबार

जनता आवासको घर नबन्दा बजेट फिर्ता

blog

ललिता साह 

बोदेबरसाइन, माघ २८ गते ।  सप्तरीमा सुरक्षित नागरिक आवास योजना कार्यक्रमका लागि जग्गा छनोट नहुँदा बजेट फिर्ता हुँदै आएको छ। 

ऋति विपन्न अस्थायी वृद्धवृद्धा अनाथ अपाङ्गता भएका तथा एकल महिलाका लागि सुरक्षित नागरिक आवास कार्यक्रम ल्याइएको हो। यसअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ६०३ घर स्वीकृत भएको हो। जसमध्ये ५३३ घर निर्माण सम्पन्न भएका हुन्। बाँकी ७० घर निर्माणका लागि ठेक्का सम्झौता भए पनि घर बनाउने जग्गा नै निश्चित भइसकेको छैन। जग्गा निश्चित नहुँदा बजेट फिर्ता भएको हो। 

सबैभन्दा बढी हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ८ र १४ मा गरी स्वीकृत भइसकेको २८ वटा घर बन्न सकेका छैनन। राजविराजको वडा ९ र ६ मा २५ वटा, कञ्चनरूप नपा–१२ मा नौवटा, महदेवा गाउँपालिका– १ मा पाँचवटा र अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ मा एउटा घर बन्न बाँकी रहेको सहरी विकास तथा भवन कार्यालय सप्तरीका सूचना अधिकारी तपेश्वरकुमार साहले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “अझै ७० घरका लागि जग्गा छनोटका लागि स्थानीय तहसँग पहल भइरहेको छ।”

हनुमाननगर कङ्कालिनी नगरपालिका प्रमुख वीरेन्द्र माझीले बन्न नसकेको घरहरूका लागि कार्यपालिकाभित्र छिट्टै छलफल गरेर पहल गर्ने बताउनुभयो। जनता आवास कार्यक्रमअन्तर्गत सप्तरीमा आर्थिक वर्ष २०७६/७७ मा ६०३ वटा घर निर्माण थालिएका छन्। मधेश प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत मधेश प्रदेश सरकारले ल्याएको महेन्द्रनारायण निधि आवास योजनाअन्तर्गत घर निर्माण कार्यक्रम ल्याइएको हो। 

२०७८/७९ मा ४५ घर र २०७९/८० मा ४९ वटा घर निर्माणका लागि प्रतिविपन्न परिवार अनुदानस्वरूप पाँच लाख ३८ हजार ५८२ रुपियाँका दरले कार्यालयलाई बजेट पठाइएको सहरी विकास तथा भवन कार्यालय सप्तरीका कार्यालय प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो।