• १३ साउन २०८१, आइतबार

पहिलो महिनाको पारिश्रमिक विद्यालयको अक्षयकोषका लागि दिन्छु : सांसद थापा

blog

गोरखापत्र अनलाइन

प्यूठान, माघ २८ गते । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिने घोषणा गर्नुभएको छ । मल्लरानी गाउँपालिका २ चुँजामा रहेको अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिने उहाँले घोषणा गर्नुभएको हो । 

विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी हुनुभएका सांसद थापाले सम्बोधनका क्रममा सो सहयोग गर्ने घोषणा गर्नुभएको हो । थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलब्ध गराउने बताउनुभयो । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा थापा पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य र प्युठान जिल्ला इन्चार्ज समेत रहनुभएका नेता थापाले सामाजिक सेवामा सक्रिय रहँदैआउनुभएको छ । सांसद निर्वाचित भएसँगै जिल्लामा हुने विभिन्न सार्वजनिक महत्त्वका कार्यक्रममा उहाँको सक्रियता बढेको छ । पूर्व पत्रकार समेत रहनुभएका थापा एमालेभित्र बौद्धिक युवा नेताको रूपमा परिचित हुनुहुन्छ ।