• ९ पुस २०८१, मङ्गलबार

जनकपुरधाममा सवारी पार्किङ्ग स्थलको शिलान्यास

blog

धर्बेन्द्र झा 

धनुषा, माघ २७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम घुम्न आउने पर्यटकको गाडी पार्किङ् गर्न समस्या देखिएपछि जनकपुरधाम उपमहानगरपालिकाले वडा ८ स्थित खाली रहेको गुठीको १२ कठ्ठा जग्गा लिजमा लिएर सवारी पार्किङ् स्थल निर्माण कार्य अघि बढाएको छ ।  

करिब ३ करोड रुपियाँको लागतमा निर्माण हुने सवारी पार्किङ् स्थलको शुक्रबार एक कार्यक्रमबीच जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साह र वडा नं. ८ का अध्यक्ष दिनेश सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

सो सवारी पार्किङ्गस्थल निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० लाख रकम विनियोजन गरेको छ । यस आर्थिक वर्षमा माटो पुर्ने कामदेखि बाउण्डरी वाल गर्नेसम्मको काम हुने नगरप्रमुख मनोज साहले जानकारी दिनुभयो । उहाँले दुई वर्षमा निर्माण कार्य सक्नेगरी कामकाज अघि बढाइने बताउनुभयो । 

उहाँले सवारी पार्किङ् स्थलमा निर्माण गरिने सुलभ शौचालय र वेटिङ रुम निर्माणको काम अर्को आर्थिक वर्षमा गरिने बताउनुभयो । नगरप्रमुख साहले काम छिटोछरितो गर्न उपभोक्ता समितिमार्फत काम गराउन लागिएको जानकारी दिनुभयो ।

सवारी पार्किङ्स्थल निर्माण भएपछि केही हदसम्म समस्या समाधान हुने उहाँले बताउनुभयो । जनकपुरधाममा अहिले अव्यवस्थित सवारी पार्किङ् हुनेगरेको कारण नगरको विभिन्न भागमा ट्राफिक जामको समस्या हुनेगरेको छ ।